काठमाडौ २६ फागुन – गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरूको म्युजिक भिडियो राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । नेपाली सेनाका महासेनानी समेत रहेका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र भर्खरै सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त जीवनको ‘चियाबारीको पातैपात’ बोलमाथि निर्मित म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको छ ।
गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइपुग्नुपर्ने बाध्यता, अरुण नदीको परिवेश आदि तथा जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माईपोखरी जस्ता विषय समेटिएका समीक्षकहरूले बताए ।
गीतमा संगीतकार वसन्त मुकारुङले संगीतदिएका छन् भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर रहेको छ । विज्ञान राई र जीवन मुकारुङले निर्देशन गरेको म्युजिक भिडियोमा योगेन्द्र राई, चाँदनी राई, अशोक मुकारुङ, युनिशा श्रेष्ठ, मन्दिप मुकारुङ र सिमरन श्रेष्ठको अभिनय रहेको छ ।
गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताए । संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’ रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताए ।
गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृतिको सम्मिश्रण रहेको बताए । मुकारुङ परिवारका तीन पुस्ताले उक्त गीतमा काम गरेका हुन् । साथै नाति पुस्ताका मुस्कान मुकारुङको स्वर पहिलो चोटि रेकर्डिङ भएको छ ।