माओवादी सांसदको प्रश्न : मोदी नेपाल आउँदा भारतीय कमाण्डोको उपस्थिति किन ?

वैशाख,३१ काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रकै सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद पम्फा भुसालले कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको बताइन् ।

तर, मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको भन्दै उनले भनिन्, ‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि ?’

पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको उनले बताइन् । कुनै पनि देशको पाहुना बोलाउँदा सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै उनले भनिन्, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ?

माओवादी प्रवक्तासमेत रहेकी भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले भ्रमणको तिथिमिति घोषणालगायतमा परराष्ट्र मन्त्रालय पछि परेको भन्दै असन्तुष्टि जनाइन् ।

source :onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *