माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डेरा सरे

काठमाडौं, १ पुस – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाजिम्पाट बाट ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । लाजिम्पाट दरबार प्रचण्डको निजि घर हो भनेर धेरैले भन्ने गरेको लाजिम्पाटबाट केही सामानहरु नयाँ डेरामा सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्ने बताईएको छ । माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए । दिउँसो माइतीघरमा केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा पुगेका थिए । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा बास बसेका थिए । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बताएको छ । नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो ।भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरेका थिए ।

यसवीचमा बाबुराम सानेपा सरेर हाल विशालनगरमा डेरा गरी बस्न थालेका छन् । उता माओवादी नेता नारायणकाजी श्रेष्ठको डेरा पनि ललितपुरमै छ । माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ । अब एमालेमा एकता गर्न लागेपछि भने सम्भवतः त्यो नीति व्यवहारिक रुपमा कायम नरहन सक्छ । किनभने, एमालेका प्रायः सबै शीर्ष नेताहरुको राजधानीमा आ- आफ्नै घर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *