असोज २९ ईलाम, ईलामको दानाबारी र महमाईबीच पर्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार दिउँसो डुंगा पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । ५० भन्दा बढी यात्रुलाई माईखोला तार्दै गरेको बेला डुंगा पल्टिएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीय हर्कबहादुर रानामगर र महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल छन् । करिब चार वर्षका एक बालकको भने सनाखत हुनसकेको छैन ।
स्थानीयले भने सातजनाको शव भेटिएको दाबी गरेका छन् । स्थानीय मोहन घिमिरेले भने, ‘माईखोलाको चेप्टीमा ६ जना र बिस्नेटारमा एकजनाको शव फेलापरेको छ ।’ दिउँसो करिब एक बजेतिर डुंगा दुर्घटनामा परेपछि दानाबारी र महमाईका बासिन्दा बेपत्ताको खोजीमा जुटेका थिए ।
डुंगामा दसैंको टीका लगाएर फर्किएका र टीका लगाउन हिँडेका यात्रुहरु थिए ।
उक्त खोलामा तीनवटा डुंगा सञ्चालन हुँदै आए पनि एउटा डुंगा केही महिनादेखि बन्द थियो । हाल दुईवटा सञ्चालनमा छन् । डुंगा कतै दर्ता नभई सञ्चालनमा आउने गरेका छन् ।
राजा महेन्द्रको पालामा महेन्द्रले माईखोलामा पुल हाल्ने प्रतिबद्वता गरे पनि आज सम्म पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुस्थानीयको भनाई छ ।