झापा १० कातिक- झापाको विर्तामोडमा बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । भिड नियन्त्रण गर्नकोलागि प्रहरीले २ दर्जन भन्दा बढी सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।
गत असोज १४ गते बेपत्ता भएका झापा अर्जुनधारा गाउँपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु भएको थियो । अनुसन्धान गर्न ढिलो गरेको भन्दै परिवारले संघर्ष समिति बनाई आन्दोलनमा उत्रिएको थियो । प्रहरीले आन्दोलनमा उत्रिएका मध्ये ३५ जनालाई नियन्त्रणमा लिएको छ ।
दशैको दिन हराएका लक्ष्मणको लास भोलीपल्ट पोखरीमा डुविरहेको अवस्थामा फेला परेका थिए । परिवारले लक्ष्मणको हत्याको आशंकामा ३ जना विरुद्ध किटानी जाहेरी दिएको थियो ।
प्रहरीले अनुसन्धान गरिरहेको भएपनि अनुसन्धान चित्त वुझ्दो नभएको भन्दै परीवार र आफन्त आन्दोलनमा उत्रिएका हुन् । अहिले झापा विर्तामोडको स्थिती तनावग्रस्त रहेको छ ।