बतासे ९ सिन्धुपाल्चोकमा ३८ जना बृद्धबृद्धालाई सम्मान

सुन्दर शिरीष-फागुन २ चौतारा, २८५३ औं ज्या (चरा वर्ग) ल्होछारको अवसरमा ३८ जना बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
सिन्धुपाल्चोकको सदरमुकामबाट करिब १० किलोमिटर पूर्वमा रहेको बतासे ९ स्थित खालेमा ल्होछारको उपलक्ष्यमा भएको साँस्कृतिक कार्यक्रममा त्यहाँ रहेका ३८ बृद्धबृद्धालाई सम्मान गरिएको हो ।

उनीहरुलाई पूर्व सांसद् सुभाष कर्मचार्यले दोसल्ला तथा ढाकाको टोपी लगाईदिई सम्मान गरेका थिए । उनले सो कार्यक्रममा युवाहरुले आफ्नो संस्कृतिको जगेर्ना गर्न जुट्नुपर्ने औल्याए । ‘हामीले हाम्रो संस्कृतिको जर्गेना गर्नु पर्छ’ ल्होछारको शुभकामना दिँदै पूर्व सांसद् कर्मचार्यले भने– ‘त्यसको लागि युवाहरु एक भई लाग्न जरुरी छ ।’

आफूलाई सम्मान गरेकोमा निक्कै खुसी हुँदै बतासे ९ खालेकी ८४ वर्षिय कान्छी लमिनीले भनिन्– ‘हामीजस्ता बुढाबुढीलाई सम्मान गरेर राम्रो काम गरेका छन् ।’ बृद्धबृद्धालाई समाजले हौसला र मायाँ गर्नुपर्ने उनले बताईन् ।

खाले युवा क्लबको आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा गायक आस्मान लोप्चनले गीत मार्फत आफ्नो प्रस्तुती दिएका थिए । आफ्नो तीनवटा गीतमार्फत तामाङ सेलो गायनमा पक्कड जमाएका लोप्चनले छोटै अबधिमा सांगीतिक क्षेत्रमा पहिचान जमाईसकेका छन् । उनले मञ्चबाट गीत गाउँदै गर्दा खालेका स्थानीय निक्कै खुसी देखिन्थे भने सँगसँगै स्थानीय डम्फु बजाएर नाचेका थिए । पछिल्लो चरणमा सांगीतिक क्षेत्रमा उनी निक्कै व्यस्त कलाकार हुन् । लोप्चनसँगै सुविना लोप्चन र केसाङ स्याङ्बोले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

‘हामीले हाम्रो संस्कृतिलाई जोगाउन विविध कार्यक्रम गर्दै आईरहेका छौं’, क्लबका अध्यक्ष क्षेत्रबहादुर तामाङले भने– ‘सामाजिक कामको साथसाथै संस्कृतिको जगेर्ना गर्नु पर्छ भनेर हामी निरन्तर लागिरहेको छौं ।’ अबका दिनहरुमा पनि यस्तो कार्यक्रमहरु निरन्तर गरिरहने उनले बताए । दुई वर्ष अघि स्थापना भएको खाले युवा क्लबले अघिल्लो साल पनि ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख यज्ञ सापकोटा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवि, स्थानीय समाजसेवी, लामा, बोम्बो, गान्वा, चोहोलगाएतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *