प्रदेश–१ का मुख्यमन्त्रीलाई गुम्बाको सम्मान

काठमाडौँ, २८ फागुन । प्रदेश–१का मुख्यमन्त्री शेरधन राई आइतबार राजधानीमा सम्मानित भएका छन् । उनलाई खोटाङको नुनथलास्थित ‘ला ज्यालो वाङ थोप गुम्बा व्यवस्थापन समिति’ले एक समारोह आयोजना गरी सम्मानित गरेको हो ।

मुख्यमन्त्री राईलाई समारोहका प्रमुख अतिथि काभ्रेका अवतारी टुल्कु कर्म वाङ छ्युले खादा र ताम्रपत्र प्रदान गरी सम्मानित गरेका थिए । चार वर्षे अवतारी टुल्कुले उक्त अवसरमा मुख्यमन्त्रीलाई आशीर्वाद समेत दिए । उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश–१ को समृद्धि नै आफ्नो सपना भएको भन्दै त्यसका लागि सम्पूर्ण ऊर्जा खर्चने प्रतिबद्धता प्रकट गरे ।

मुख्यमन्त्री राईको राजनीतिक जीवन, समाज र राष्ट्रका लागि उनले दिएको योगदानबारे प्राज्ञ तथा कवि शशी लुमुम्बूले प्रकाश पारेका थिए । राई राजनीतिमा निष्ठा, प्रतिबद्धता र समर्पणका पर्याय भएको भन्दै सकारात्मक सोच बोकेर हिँडेकै कारण उनी राजनीतिको यो उचाईमा पुग्न सफल भएको उनले प्रस्ट पारे ।

राजनीतिका माध्यमबाट समाज परिवर्तन र राष्ट्रको समृद्धिका लागि अनुकरणीय योगदान पु¥याएबापत मुख्यमन्त्रीको कार्यकाल पूर्ण सफलताको कामना गर्दै समितिले मुख्यमन्त्री राईलाई सम्मानित गरेको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष तथा समाजसेवी मेनुका तामाङ राईले बताइन् ।

उनले खोटाङको नुनथलामा निर्माण गरिन लागेको गुम्बा देशकै अर्को महत्वपूर्ण गुम्बा हुने बताउँदै सहयोगका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार र देशविदेशमा रहेका शुभेच्छक समेतलाई आग्रह गरिन् ।

समारोहमा प्रदेश सभा सांसद राजन राई, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, गीतकार टीका चाम्लिङ, समाजसेवी चन्द्र चाम्लिङ, उद्योग वाणिज्य महासंघ खोटाङका अध्यक्ष राजु लयालु लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *