काठमाडौं, २० कातिक- नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान शिंहले काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्धवार आफु नै भएको स्पष्ट पारेका हुन् । उनले भने,‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेद्धवार हुँ, यसमा कुनै प्रश्न गर्नुपर्छजस्तो मलाई लाग्दैन्।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले आफ्नो पार्टी नै अबको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । उनले थपे,‘काठमाडौंको जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ, मलाई मन पराउनुभएको छ, म उपसभापति भैसकेको व्यक्ति हुँ, कांग्रेसबाट काठमाडौं उपत्यकाबाट कोहीपनि प्रधानमन्त्री अहिलेसम्म हुनुभएको छैन, अब यहाँका जनताले मलाई प्रधानमन्त्री भएको हेर्न चाहानुभएको छ, र त्यो क्षमता, योग्यता, र लोकप्रियताका कारण म नम्बर वान हुँ।’
त्यस्तै काठमाडौंका जनताहरुले सपना बाँढ्नेहरुलाई मत नदिने भन्दै काम गर्ने पार्टी र नेतालाई विजयी गराउने उनको भनाई थियो ।
साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई लक्षित गर्दै नेता सिंहले प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाए । उनले थपे,‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’
काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा काँग्रेसले जित निकाल्ने उनको दाबी छ । उनले भने,‘काठमाडौंंमा ८ वटा निवार्चन क्षेत्र काँग्रेसले विजयको झण्डा फराउनेछ, हेर्दै जानुहोस् मंसिर २१ पछि देशभर काँग्रेसको विजयीको संख्या एकपछि अर्को थपिँदै जानेछ।’
आधारविहिन सपनाका पोका बाढ्नेहरुलाई भोट हालेर आफ्नो अमुल्य मत खेर नफाल्न समेत उनले आग्रह गरे । उनले थपे,‘देशभर लोकतान्त्रिक शक्तिलाई अत्याधिक मत दिएर विजयी गराउन म यही मञ्चबाट हार्दिक आग्रह गर्दछु।’
उनले भने,‘मुलुकभर लोकतान्त्रिक पक्षमा उर्लिंदो जनमास छ, जनता पहिलेको जस्ता छैनन्, सपनाहरुको खेती गर्नेहरुको पछि लाग्न छोडिसके, काम गर्ने र विगतमा काम गरेको पार्टी र व्यक्तिलाई जनताले भोट दिन्छन्।’
एमाले–माओवादीबीचको गठबन्धनले बहुमत ल्याउँछाँै भनेको छ नि भनेर सोधिएको प्रशनको जवाफमा उनले भने,‘यस्ता हावा कुराको पछि नलाग्नुस्, कम्युनिष्टहरुको बहुमत आउँदैन, काँग्रेसको पक्षमा मतदाता छन, काँग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको जनताले राम्रोसँग बुझेका छन्, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सम्पन्न गर्नुपर्ने भएको कारण पनि आगामी निर्वाचनमा काँग्रेस पहिलो दल बन्छ।’
आफ्नो प्रतिष्पर्धी कोही नभएको भन्दै एमाले–माओवादीको गठबन्धनलाई साम्यवादी व्यबस्थाको सपना नदेख्न चेतावनी दिए । उनले भने,‘हामीले राणा फाल्यांै, राजा फाल्यांै, विश्वमा कहलिएको र रुचाईएको शासन व्यवस्थाको स्थापित गयौँ, फेरी तानाशाही साम्यवादको परिकल्पना गर्नु केबल दिवा सपना मात्रै हो, जनता यस्तो व्यबस्थाका बिरुद्धमा छन्।’
पहिलेकोजस्तो निर्वाचन नभएको भन्दै नेता सिंहले देश भरका लोकतान्त्रिक पक्षधर आम जनतालाई काँग्रेसका उम्मेद्वारलाई भोट दिएर समृद्धिको अभियानमा जुट्नको लागि आग्रह गरे ।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले क्लबले निर्वाचन स्वच्छ, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नको लागि क्लबले देशव्यापी चुनावी अभियान सञ्चालन गर्ने बताउँदै निर्धक्क भएर आफ्नो मत खसाल्न आग्रह गरेका छन् । उनले निर्वाचन सम्पन्न भएपछि मुलुकमा संविधान कार्यान्वयनको चरण पूरा हुने भन्दै त्यसपछि आर्थिक समृद्धिको जग हाल्न सबै दलहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।