नेपाल प्रहरीको नियन्त्रणमा रहेका भारतीय प्रहरी छुट्यो

महेन्द्रनगर १९ जेठ-नेपाल प्रवेश गरेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर छाडेका छन् । नेपाल प्रहरीले भारतीय डिएसपी नागराज सहितको प्रहरी टोलीलाई शुक्रबार बिहान छोडेको हो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरुलाई कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीसम्म पुर्‍याएर भारतको बनवासास्थित प्रहरी थानाको जिम्मा लगाएको छ ।

बुधवार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीले राति नै त्यहाँबाट महेन्द्रनगरका लागि ल्याएका थिए । माथिल्लो निकायसँगको समन्वयपछि नेपाल प्रहरीको क्षेत्रीय कार्यालयले उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोडेको प्रहरी स्रोतले जनाएको छ ।

डोटीको दिपायल-सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधबार राती पक्राउ गरेको थियो । भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई पक्राउ गर्न भारतमा रहेका उनकै दुई जना साथीको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *