नेपाल आयल निगमले पेट्रोल,डिजेल,ग्यासको मूल्य बढायो

काठमाडौं, २२ मंसिर- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज रातीदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँ मुल्यवृद्धि गरिएको आयल निगमले जनाएको छ ।

यस्तै खाना पकाउने ग्यासको भाउ पनि २५ रुपैयाँ बढेको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । बढेको भाउ अनुसार अब पेट्रोल लिटरको १ सय, डिजेल र मट्टितेल ७७ तथा खाना पकाउने ग्यास प्रति सिलिण्डर १३ सय ५० पुगेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सय डलर बढाएर प्रतिकिलोलिटर ८ सय ५० डलर पुगेको उहाँले बताउनुभयो ।

चुनावअघि आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मुल्यवृद्धि फिर्ता लिएको थियो । जसका कारण बढेको भाउ कार्यान्वयन हुन पाएको थिएन । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा कांग्रेस पछि परेको मौकामा निगमले भाउ बढाएको हो ।

भाउ बढाए पनि अब मासिक घाट ४२ करोड रुपैयाँ रहेको गोइतले बताएका छन् । भाउ नबढाउदा निगमलाई मासिक १ अर्व ६ करोड रुपैयाँ घाटा रहेको पनि उनले बताएको उज्यालो अनलाईनमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *