नेपाली अर्गेलीको बोक्रा बाट जापानी मुद्रा बनिने

talim photoसन्देश सुब्बा-असोज १८ पाँचथर, पाँचथर र ताप्लेजुङका ५५ जना अर्गेली कृषकलाई जापानी प्रविधि सिकाइएको छ । पाँचथरको रानीटार–६, गुम्बाडाँडामा जापानी प्रविधिबाट अर्गेलीको बोक्रा उकाउँने तालिम दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकस्ट) को आर्थिक सहयोगमा दाजुभाई जडिबुटि उत्पादन तथा प्रशोधन सहकारी संस्थाको आयोजनामा तालिम दिइएको हो । तालिममा प्राविधिक सहयोग भने नेपाली अर्गेलीको बोक्रा जापान निर्यात गरिरहेको कानपाउ नेपालले गरेको छ ।

तालिमको सहजीकरण नेपाली अर्गेलीको बोक्रा लिदै आएको जापान स्थित कानपाउ नामक संस्थाका अध्यक्ष माचुवारा तादासी र जाइकाका प्रतिनिधि इनोउए खाजुहिराले गरेका थिए । त्यस्तै कानपाउ नेपालका हिकोहजी सिल्पकार, पदम मगर, रिकस्टका प्रतिनिधि बिजय सुवेदी र इसीमोडका प्रतिनिधि जनिता गुरुङले तालिमको सहजीकरण गरेको आयोजक संस्थाका अध्यक्ष होम थाम्सुहाङले बताए ।

३ दिने उक्त तालिमको एक समारोहकाबीच जिल्ला वन कार्यालय पाँचथरका वन अधिकृत दिवेशमणी त्रिपाठी र घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहालले उद्घाटन गरेका थिए ।
नेपाली अर्गेलीको बोक्रा विश्वकै उत्कृष्ठ– तादासी

सो अवशरमा कानपाउ जापानका अध्यक्ष तादासीले नेपाली अर्गेलीको बोक्रा विश्वकै उत्कृष्ठ भएको बताएका छन् । नेपाली लोक्ता सबैभन्दा बढी येन (जापानी मुद्रा) बनाउँन प्रयोग हुने उनले बताए । यसबाट बनाइएको पैशा बलियो र पानीमा भिजाउँदा समेत केही नहुने तादासीले बताए । त्यसबाहेक उच्च गुणस्तरको कागज बनाउँन प्रयोग हुने उनले बताए । धेरै नेपाली युवा विदेशमा रहेको सुन्दा दुःख लागेको भन्दै तादासीले नेपाली युवालाई व्यवसायिक अर्गेली खेतीमा लाग्न आग्रह गरे ।

गत वर्ष १ सय १४ टन अर्गेलीको बोक्रा माग भए पनि ९० टन मात्र जापान निर्यात गर्न सकिएको कानपाउ नेपालका हरिगोपाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ४ सयदेखि ४ सय ४० रुपैंयाँ प्रतिकेजीका दरले नेपाली अर्गेलीको बोक्रा जापान निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *