निर्वाचन आयोगले सौतेनी व्यवहार गरे पनि चुनावमा भाग लिन्छौँ: अध्यक्ष न्यौपानें

काठमाडौं, १५ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको छ । रिपोर्टर्स क्लव नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको हो ।

चुरेभावर पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा संगठन विभाग प्रमुख एवम् केन्द्रीय कोषाध्यक्ष विदुरप्रसाद घिमिरे र उपमेयरमा केन्द्रीय सहकोषाध्यक्ष सम्झना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा चुरेभावर पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले निर्वाचन आयोगको साना दलहरूप्रति गरेको नकारात्मक व्यवहारका कारण पनि आफूहरूले उम्मेदवारी धमाधम घोषणा गरेको बताए ।

‘निर्वाचन आयोगले साना दलहरूलाई सौतेनी व्यवहार गरेको छ’, उनले भने, ‘चुनाव चिन्ह दिएर दलीय रुपमा होइन स्वतन्त्र चुनावमा प्रतिस्पर्धा गर भन्नु लोकतन्त्रमा कति जायज हुन्छ ।’ स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न खालका भ्रम र अफवाह फैलाइएको भन्दै चुरेभावर पार्टीका अध्यक्ष न्यौपानेले भने, ‘चुनाव तोकिएकै समयमा गर्नुपर्छ । निर्वाचनको बहानामा राष्ट्रहितका काम गर्नु हुँदैन ।’

अध्यक्ष न्यौपानेले संसदमा दर्ता भएको परिमाजर्नसहितको संशोधन विद्येधयकमा उल्लेख भएको भाषा र स्थानिय तहको संख्या बृद्धिमा आफ्नो पार्टीको घोर आपत्ति रहेको स्पष्ट पारे।  उनले भने,‘हिन्दी भाषा र तराईका ११ वटा जिल्लामा कसैलाई खुसि पार्नको लागि संशोधन प्रस्ताव ल्याउने खेल भएको छ, यसमा हाम्रो घोर आपत्ति छ, हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लिन सकिदैन, सबै जिल्लामा स्थानीय तहको संख्या थप्ने  काम गरिन्छ भने हाम्रो सहमति हुन्छ, अन्यथा हाम्रो कुनै साथ रहँदैन, हाम्रो पार्टीले आन्दोलन गर्न जानेको छ, तर जनताले हाम्रो पार्टीलाई कुन स्थानमा उ्रभ्याउँछन् त्यहाँ उभिन हामी तयार छौँ।’

मेयरका उम्मेदवार विदुरप्रसाद घिमिरे र उपमेयर सम्झाना श्रेष्ठले लोकतान्त्रिक मूल्य र मान्यता तथा २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनलाई सफल बनाउन आफूहरूले उम्मेदवारी घोषणा गरेको बताए । ‘निर्वाचनमा जितहार हुनु स्वभाविक हुन्छ’, उनीहरूले भने, ‘हामी लोकतान्त्रिक पद्धतिलाई कायम गर्न र प्रतिस्पर्धाको राजनीतिलाई दिगो बनाउन चुनावमा सहभागी भएका हौं ।’

काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष पूर्णबहादुर क्षेत्रीले आफ्नो दलका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरसहितका पदमा उम्मेदवारी दिएकाहरूलाई मतदान गरेर विजयी गराउन आग्रह गरे । उनले काठमाडौं जिल्लामा क्रमशः उम्मेदवारहरू घोषणा गर्दै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *