निगमले सुकेटार विमानस्थलमा गर्यो उडान सुचारु

१८ भदौ, काठमाडौँ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महिनाको अन्तरालपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुचारु गरेको छ ।

वर्षायाममा प्रतिकूल मौसमका कारण निगमले असार ७ गतेदेखि ताप्लेजुङको उडान स्थगित गरेको हो । सोमबारदेखि नियमित उडान सुरु भएको सुकेटार विमानस्थलका प्रमुख सचिन तिवारीले जानकारी दिए । उडान तालिका अनुसार निगमले विगतमा जस्तै हप्ताको तीन दिन सोमबार, बिहीबार र शनिबार काठमाडौं–सुकेटार रुटमा सेवा प्रदान गर्ने जनाएको छ ।

करिब १,८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलले मनसुनमा प्रायः भिजिबिलिटी चुनौतीहरूको सामना गर्छ। निगमले हवाई भाडा पनि परिमार्जन गरेको छ । काठमाडौं–ताप्लेजुङ रुटको भाडा यसअघि ९ हजार ६ सय ५३ रुपैयाँबाट घटाएर प्रति उडान ८ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ताप्लेजुङदेखि काठमाडौंको भाडा यसअघिको ९ हजार ४ सय ५३ रुपैयाँबाट घटेर ८ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । मौसममा सुधार र चाडपर्वको सुरुवातसँगै उडानको निरन्तरता र यात्रुको अभाव नहुने विमानस्थलले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *