नयाँ शक्ति पार्टीले नाम परिवर्तन गर्ने

काठमाडौं- नयाँ शक्ति पार्टिले आफ्नो केन्द्रीय कार्यकारी समितिलाई ९९ सदस्यीय बनाएको छ । पार्टीको बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गर्दै उक्त समिति बनाएको हो । संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन भन्दै कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन समेत गरेको हो । वैचारिक-राजनीतिक मार्ग दर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने बताईएको छ । बैठकले पार्टीका संयोजकमा पुनः डा. बाबुराम भट्टराईलाई चयन गरेको छ।

त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँ शक्तिले जनाएको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय पनि लुम्बिनी बैठकले गरेको छ। आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र सोको लागि छलफलबाट उपयुक्त नाम तय गर्ने पनि जनाइएको छ।

दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति बनाएको छ।

महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरु निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ र प्रवक्तामा प्रशान्त सिंह कायम रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *