नयाँ एल्बम चाडै बजारमा ल्याउदै छु: अमृता सम्बाहाम्फे लिम्बू

amrita limbu 2पाँचथरको रानीगाउँ ३ मा जन्मिएर बाल्यकाल त्यहि बिताई औपचारीक शिक्षा लिन सुरुवात गरेकी अमृता सम्बाहाम्फे लिम्बू लाहुरेकी कान्छी छोरी हुन् । दुई दाजु र दुई दिदीकी एक्ली बहिनी अमृता बाल्यकालमा निक्कै चञ्चली थिइन् । त्यतिबेला उनको मोडल बन्ने चाहना थियो । तर विविध कारणले उनको चाहनालाई पुरा गर्न सकिनन् । त्यसपछि उनि गायनतर्फ लागिन् । यहि गाउने चाहनालाई पुरा गर्न एसएलसी गरे पछाडी काठमाडौ आईन् । हुन पनि त हो, सुख दिने पनि काठमाडौ, दुःख दिने पनि काठमाडौ, नाम र दाम दिने पनि काठमाडौं । अमृता काठमाडौ आएर, पद्मकन्या क्याम्पसमा उच्च शिक्षाको निम्ति भर्ना भईन् । पढ़मकन्या क्याम्पसको होस्टेलमै बस्दै, आफ्नो अध्ययनलाई अगाडि बढाइ रहेकी अमृताले होस्टेलको सांगीतिक वातावरणमा गीत गाउने मौका पाईन । यसरी गीत गाउदा साथीहरूको हौसला र प्रेरणाले उनलाई झन् अगाडि बढ्ने साहस आयो । त्यसपछि संगीतको औपचारिक शिक्षा राष्ट्रिय नाचघरमा सुदेस शर्मासँग लिईन् । त्यो सँगै संगीतको डेढ बर्षे कोर्स मनोजराजसँग सिकेकी अमृताले केही नेपाली चलचित्र र आधुनिक, लोक, पप गरी करिब ३० वटा जति गीतमा आफ्नो स्वर रेकर्ड गराइसकेकी छिन् ।
आफ्नो सोलो एल्बम स्रोता दर्शकहरू माझ ल्याउन लागेकी अमृता सम्बाहाम्फे लिम्बु यतिबेला एल्बमकै काममा व्यस्त छिन् । गायन क्षेत्रमा रहे पनि, मोडलिङ्गको चाहना अझै मरेको छैन । त्यसैले निकट भविष्यमै उनलाई मोडेलको रूपमा देख्न सकिने पनि प्रवल सम्भावना छ । तत्कालको निम्ति आफ्नो एल्बमको गीतमा मोडलिङ्ग गर्दैछिन् । उनै सुन्दरी, रुप र स्वरकी धनि गायिका अमृता सम्बाहाम्फे लिम्बूसँग सूचना खबर डटकमको लागि ईन्द्र इन्द्र कुमार राई (जिजीबिषा)ले गरेको कुराकानी ।

नयाँ एल्बम ल्याउदै हुनुहुँदो रहेछ, कस्तो एल्बम ल्याउदै हुनुहुन्छ ?

हजुर, अब म केहि समयको अन्तरालमै मेरो सोलो नयाँ एल्बम बजारमा ल्याउदैछु । यो मेरो पहिलो एल्बम हो । यो एल्बममा आधुनिक, फिल्मी, पप, लोक सबै विधाको गीतहरू रहनेछन् ।

चाडै भन्नु भयो, कहिले सम्म बजारमा आउछ त ?

यो एल्बमको लागि दुईवटा गीतको अडियो रेकर्डको काम चल्दैछ । त्यो सकिएपछि केहि गीतहरूको म्युजिक भिडियो पनि बनाउनुछ । त्यो सकिने बितिकै भनु दुई महिनाभित्रै बजारमा मेरो एल्बम ल्याई सक्छु ।

दुईवटा गीत रेकर्ड गर्न बाँकी भन्नुभयो, कतिवटा गीतहरू रहनेछन् यो एल्बममा ?

यो एल्बममा सबै विधाको गरेर ८ वटा गीतहरू राख्ने छु ।

आठवटा गीत, त्यसको म्युजिक भिडियो पनि बनाउदै हुनुहुन्छ, लगानी त धेरै नै पुग्ला, त्यसलाई कसरी म्यानेज गरिरहनु भएको छ ?

हजुरले यो एकदमै राम्रो प्रश्न गर्नु भयो, मलाई यो एल्बमको लागि धेरै जनाको साथ सपोर्ट र सहयोग गर्नु भएको छ । आज म विशेष धन्यबाद दिन चाहन्छु, वेलायतमा रहनु हुने जानु काम्बाङ दिज्युलाई । उहाँले ‘अमृता सबैभन्दा पहिला तिम्रो एल्बम बजारमा ल्याउनु पर्छ’ भनेर हौसला दिनु हुन्थ्यो । उहाँको यो एल्बम ल्याउनुमा धेरै ठुलो हात छ । मेरो एल्बमको लागि शब्द रचनादेखि, सम्पूर्ण वातावरण मिलाई मलाई धेरै सहयोग गर्नु भएको छ । त्यसपछि तिलविक्रम सम्बाहाम्फे ज्युले सम्पुर्ण सम्बाहाम्फे परिवारबाट मेरो एल्बमको लागि आर्थिक जुटाई दिएर, ठुलो सहयोग गर्नु भएको छ । पूर्ण साउदेन र युकेमा रहनु हुने मलाई सहयोग गर्नुहुने दाई दिदीहरू अनि सम्बाहाम्फे दाजुभाईहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । त्यसैगरी मुकेश राई, विर्सिका राई र सीता शेरचन दिज्युले पनि शब्द रचना गरेर सहयोग गर्नु भएको छ । उहाँहरूलाई पनि हार्दिक धन्यबाद भन्न चाहन्छु ।

आजसम्म तपाईंले कतिवटा गीत रेकर्ड गरिसक्नु भयो ?

आज सम्ममा मैले, संख्याको हिसाबमा, ३० वटा जति गीत गाइसकेकी छु । संगीतकार तथा गायक सुमन राईसँग गाएकी छु । वादल लिम्बूसँग ‘केही मिठो वात गर’ भन्ने, विक्रम राईसँग ‘कसरी सोधुँ’ भन्ने, स्वप्निल लिम्बूु दाई र ईन्द्र गुरुङ दाईको कम्पोजमा पनि गाएकी छु । ‘छेस्को’ फिल्ममा पनि गाएकी छु । तपाइँहरूले ‘युट्युब’मा हेर्न सक्नु हुनेछ ।

सांगीतिक क्षेत्रमा कसरी आउनु भयो ?

मेरो सानै देखिको गीत गाउने नाच्ने चाहना थियो । म भविष्यमा गायिका बन्छु भनेर कल्पना गर्थे । तर अवसर पाएकी थिइनँ । जब म पाँचथरदेखि काठमाडौ आएँ, त्यसपछि पद्मकन्या कलेजमा भर्ना भएँ । त्यहाँको वातावरण संगीतमय थियो । त्यहाँ म गीतहरू गाउने गर्थे, मैले गीत गाएको सुनेर, साथीहरूले राम्रो गाउछौ, गीत रेकर्ड गर भन्नु हुन्थ्यो । त्यस्तै कार्यक्रममा गीत गाउने मौका मिल्यो । साथीहरूकै हौसला, प्रेरणाले र मेरो चाहनाले गर्दा म यो क्षेत्रमा आएकी हुँ ।

गीत संगीत क्षेत्रमा लागेर बाँच्न सकिन्छ त ?

गीत संगीत क्षेत्रमा लागेर बाँचेकै अवस्था पनि छ । तर कसरि बाँच्ने भन्नेमा भर पर्छ । हाईफाई भएर बाँच्ने की, साधारण तरिकाले बाँच्ने ? त्यसमा भरपर्छ । हाईफाई तरिकाले त गाह्रै होला तर साधारण तरिकाले भने जीवन चलाउन सकिन्छ ।

गायनको अलावा अरु के गर्नु हुन्छ ?

गायनको अलावा म अध्ययन गर्छु । अहिले ब्याचलर सकेर बसिरहेकी छु ।

अहिलेसम्मको सांगीतिक अनुभव कस्तो रह्यो ?

अहिलेसम्मको सांगीतिक अनुभवलाई हेर्दा, मिठो पनि छ तितो पनि छ । सङ्घर्ष धेरै गरेकी छु । र, अझै गर्दै नै छु । तर अग्रजहरूसँगको चिनजान भेटघाटले गर्दा रमाइलो पनि अनुभव गरेकी छु । धेरै साथीभाईहरूसँग चिनजान हुन्छ, कन्सर्टको लागि देश–विदेश जान सकिन्छ, त्यो पाटोलाई हेर्दा, रमाइलो छ ।

तपाइँ यो क्षेत्रमा भर्खरै आउनु भएको छ । पुराना स्थापित कलाकारहरूले नयाँलाई कस्तो ब्यावहार गर्छन् ? तपाइँलाई कसैले दुव्र्यवहार गरेका छन् ?

मैले आजसम्म त्यस्तो महशुस गरेकी छैन । अधिकांशले मलाई माया, हौसला सुझाव सल्लाह नै दिनु हुन्छ । तर केहि छन् त्यस्ता हजुरले भने जस्ताहरू पनि, तर म नाम लिन चाहन्न ।

अब हामी अलिकति विगततिर फर्कौ, तपाइँको बाल्यकाल कहाँ र कसरी बित्यो ?

म पाँचथरको रानीगाउँमा जन्मिएकी हुँ । त्यहाँको वातावरण एकदमै रमाइलो छ । म त्यहीको डाँडा–पाखा, वन–जंगल, लेक–वेसी गर्दै, नाच्दै गाउदै नै बिताएँ । त्यो क्षणहरू सम्झिदा, आज पनि फेरि त्यही बाल्यकालमा फर्कनु पाए हुन्थ्यो जस्तो लाग्छ । तर के गर्नु, त्यो चाहेर पनि सम्भव छैन । एसएलसी गरेपछि, काठमाडौ आएँ ।

अब अन्त्यमा, तपाइँको गीत सुन्ने स्रोताहरूलाई र हाम्रो सूचनाखबर डटकम पढ्ने पाठकहरूलाई के भन्न चाहनु हुन्छ ?

मेरो अन्तर्वार्ता लिएर सहयोग गरिदिने सूचनाखबर डटकम लाई धेरै धेरै धन्यवाद,र मेरो नयाँ एल्बम बजारमा आउदै छ । सबैले एक पटक सुनिदिनु होला, हेरी दिनुहोला । तपाइँहरूले माया गरि दिनुहोला । सुनी सकेपछि, राम्रो या नराम्रो जे जस्तो भए पनि प्रतिक्रिया जनाई दिनुहोला । धन्यवाद

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

indra jijibisha
www.suchanakhabar.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *