देशभरका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्न आह्वान

काठमाड २७ साउन-नेपाली चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले आजबाट देशभरका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्न आह्वान गरेको छ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनशनरत डा. गोविन्द केसीसँग विगतमा भएका सम्झौता कायान्वयन गर्दै उहाँको जीवन रक्षाका लागि दबाव दिन स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित गरेको विज्ञप्तिमा शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्मका लागि सम्पूर्ण सरकारी, निजी शिक्षण अस्पताल, अस्पतालहरु, मेडिकल कलेजहरु, नर्सिङहोम, क्लिनिक लगायत स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएकोले सो अनुसार गर्न आह्वान गरिएको छ ।

संघले स्वास्थ्य संस्थाहरुमा ओपिडी सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएको आरोप लगाएको छ। संघले यो आन्दोलनप्रति नर्सिङ, स्वास्थ्यकर्मी, नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल, मानव अधिकार आयोग तथा संघ-संगठन लगायतलाई अपिल गरेको छ।

साथै, संघले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित संसदीय कार्यदलले विवादास्पद निर्णय गरेकोमा आपत्ति प्रकट गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग समेत गरेको स्वास्थ्य खबरमा समाचार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *