दुध कोशी जयराम घाट पुल निर्माणमा प्रधानमन्त्रीको अग्रसरता

jayaram ghatमंसीर १ काठमाडौं, मध्य पहाडी लोकमार्ग अन्तर्गत, खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रसरता देखाएको छ । ८ बर्ष अगाडी निर्माण सुरु भएको उक्त पुल, आज सम्ममा पनि निर्माण सम्पन्न भएको छैन । जयराम घाट पुल निर्माणको ठेक्का बिक्रम पाण्डे (कालिका कन्ट्रक्सन) दिवाकर गोल्छा ( हुलास कन्ट्रक्सन)ले लिएको छ ।

गत साता राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए। २०६६ असार २३ गते पुल निर्माणको सम्झौता भई २०७० मंसीर १५ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा हालसम्म पनि सम्पन्न नभएपछि पुल निर्माण कार्यलाई तिब्रता दिन प्रधानमन्त्रीले अग्रसरता देखाएको हो ।
बुधबार प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राखेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिबहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको छ । प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *