काठमाडौ २२ चैत्र,नेपालका ८ वटा ट्रेड युनियन महासङ्घले हिजो व्यवस्थापिका संसद अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम
समितिका सभापती मा. प्रभू शाहलाई भेटी श्रमिक मैत्री श्रम ऐन ल्याउन ध्यानाकर्षण गराएको छ । हालको श्रम विधेयकको दफा १८० मा निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार नदिने गरी मस्यौदा तयार भएको पाइएको छ ।
यसै गरी हायर एण्ड फायर र नो वर्क नो पे को व्यवस्था लागु गर्न खोजिएको छ । विधेयकमा रहेको उक्त व्यवस्था प्रति आपत्ति जनाउंदै श्रमिकहरुको सेवा सुरक्षा, सामाजिक सुरक्षा, वृत्ति विकास र निजामती कर्मचारीहरु सहित सवै पेसाकर्मीहरुलाई ट्रेड युनियन अधिकार प्रदान गर्ने गरी श्रम ऐन ल्याउन गम्भीर ध्यानाकर्षण गराईएको हो ।
प्रतिनिधि मण्डलमा पेसागत महासंघ नेपालवाट प्रेमलकुमार खनाल, शंकर सुवेदी, विष्णु लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी महासंघवाट प्रेम खनाल, नेपाल प्रगतिशिल ट्रेड यूनियन महासङ्घवाट तिलक थापामगर, नेपाल समावेशी ट्रेड यूनियन महासङ्घवाट इन्द्रदेव मिश्र, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारीक ट्रेड युनियनको तर्फवाट अध्यक्ष पुण्य ढकाल सहितका ट्रेड युनियनका नेताहरु रहेका थिए ।
समितिका सभापति लगायत सदस्यहरुलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएमा समग्र पेशाकर्मीहरुको तर्फवाट महासंघहरु कडा कदम चाल्न वाध्य हुने व्यहोरा सम्बन्धित पक्षलाई जानकारी गराएको छ ।