चीनले नेपाललाई थप २० लाख मात्रा कोरोना खोप अनुदान दिने

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार टेलिफोन संवाद भएको छ ।

करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।

कुराकानीका क्रममा कोभिड विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ ।

सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

एक हजार ९६ मा कोरोना संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र १,७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोही क्रममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । यस्तै एक हजार चार जनाले कोरोना भाइरसलाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *