काठमाडौं, २८ कात्तिक- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना लाई सार्वजानिक गरिएको छ ।
गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता रहेको छ । सुटरसहित सहयोगीहरु पक्राउ परेपनि हत्याका योजनाकार भने अहिले सम्म पक्राउ पर्न सकेका छैनन् ।
विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । उनले देशबाहिरबाटै हत्याको नेतृत्व गरेका थिए । बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् ।
मागजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष निकालिए पनि, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन ।
हत्यामा प्रयोग भएको मोटरसाइकल भने भारतबाट चोरर ल्याइएको थियो र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो । पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङले गौचनलाई गोलि हानिएको प्रहरीले बताएको छ ।
यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।
हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।