गीतकार जानुका राईद्वारा लिखित गीति एल्बम विमोचित, राईद्वारा विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

ईन्द्र जिजीबिषा / काठमाडौ १४ भदौ- गीतकार तथा समाजसेवी जानुका राईद्वारा लेखिएका गीति संग्रह र गीति एल्बम विमोचन गरिएको छ । भिमु मेमोरियल ट्रस्टको आयोजनामा, गीतकार जानुका राईद्वारा लिखित “आमा” गीति संग्रह “समय” र “सन्दर्भ” गीति एल्बम एकै साथ विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिस्ठानको पुर्व कुलपती वैरागी काइँला लगायत अन्य अतिथिहरुले जानुका राई कृत, कृतिहरु काठमाडौको बानेश्वर स्थित ईन्द्रेणी फूड ल्याण्डको मैत्री हलमा विमोचन गरेका हुन् ।

विगत लामो समय देखि वेलायतमा रहेर सक्रिय रुपमा कलम चलाईरहेकी गीतकार जानुकाले आफ्ना हरेक सृजनाहरुमा देश र समाजको प्रतिविम्व उतार्ने गरेकी छन् । “गरिवीको भारि बोकी, पर्देशिनु बाध्य छु म” जस्ता यथार्थ चित्रण हुने गीतहरु गीतकार जानुका राईले रचना गरेकी छन् । गीतकार जानुका राईको यो भन्दा अगाडि “धर्तिको जन्म” र “समर्पण” गीति एल्बम बजारमा आईसकेको छ ।

गीतकार जानुका राईको स्वर्गीय बाबा-आमाको सम्झनामा स्थापना गरिएको भिमु मेमोरियल ट्रस्ट समाजसेवामा सक्रिय रहदै आएको संस्था हो । गीतकार जानुका राईद्वारा लेखिएका कृतिहरुको बिक्रिबाट जम्मा भएको रकम पनि शिक्षा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताईएको छ । यो पटक पनि, बाढि पहिरो पिडितहरुको लागि सहयोग गर्ने लक्ष्य लीइएको भएपनि विविध कारणले त्यसलाई पछाडि सारिएको मलेशियामा सक्रिय पत्रकार तथा व्यापारी विपिन राईले बताएका छन् । भिमु मेमोरियल (भिमबहादुर राई र मुगासरी राई) को फाउण्डर गीतकार जानुकाको पति शिवकुमार राई हुन् ।

समाजसेवी तथा गीतकार जानुका राईले यो भन्दा अगाडी भिमु मेमोरियल ट्रस्ट मार्फत सुम्निमा कल्चर एकेडेमीको लागि रु एक लाख एघार हजार एक सय एघार रुपैयाको अक्षयकोष खडा गरिदिएकी थिइन् । यो पटक भने, जानुका राईले चार जनालाई बार्षिक दश हजारको छात्रवृत्तिको घोषणा गरेकी छन् । यो छात्रवृत्ति आर्थिक स्तर कम्जोर र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने गीतकार जानुकाले बताएकी छन् । यो पटक उदयपुरको अमित विश्वकर्मा र आशिष राई अनि काभ्रेको नारायण स्थान आवासीय विद्यालयका रोजिना लामा र सुदिप बिकलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा, गीतकार जानुका राईले वेलायतको नागरिकता त्यागेर नेपालमै समाजसेवा गर्ने पनि बताएकी छन् ।

कार्यक्रममा बोल्दै प्राज्ञ तथा वरिष्ठ कवि श्रवन मुकारुङ्गले भने ” गीत लेख्दा सबै भन्दा धेरै लयलाई ध्यान दिनु पर्छ । अनि गीतको शब्दमा नयाँपन दिनु सक्नु पर्दछ । गीतकारले शब्दमा नयाँपन दिनु सक्यो भने, संगीतकारले पनि नयाँपनको संगीत सृजना गर्न सक्दछ । २५ बर्ष अगाडि लेखिएका गीतका शब्द र हिजोआज लेखिने गीतको शब्दहरुमा के-कति अन्तर छ त ? त्यहि २५ बर्ष अगाडि लेखिएका गीतका शब्दहरु जस्तै आज पनि लेखिदै छ की, केहि नयाँपनको शब्दहरु सृजना हुदै छ त ? भन्ने हुन्छ । तर गीतकार जानुकाले यो क्षेत्रमा एक दशक बिताई सकेको हुनाले, उनले लेखेको गीतका शब्दहरु खारिएका र परिपक्क छन् ।”

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिस्ठानको पुर्व कुलपती वैरागी काइँलाले यति राम्रा प्रतिभा भएकाहरु बिदेशिनु दुखको कुरा हो । वेलायतमा सुसाशन छ । यहाँ हाम्रो देशमा पनि सुसाशन भैइदिएको भए, यस्ता प्रतिभा भएकाहरुले पर्देशिनु पर्ने थिएन । हरेक प्रतिभाहरुले आ-आफ्नो तरिकाले परदेशमा भोग्नु परेका हरेक दुख सुखलाई सृजनाको माध्यमबट व्याक्त गर्ने गरेका छन् । गीतकार जानुका राई र उहाँको श्रीमान् दुवै जना मिलेर आफ्नो स्वर्गीय पिताको सम्झनामा ट्रष्ट स्थापना गरि, सृजनाका माध्यमबाट समाजसेवामा लाग्नु भएको छ, यो धेरै राम्रो काम हो । गीतकार जानुका राईका गीति संग्रह भित्र साह्रै नै राम्रा-राम्रा गीतहरु संग्रहित रहेछन् । यो गीतहरु निशन्देह कालजयी हुने नै छ ।” भन्दै गीतकार जानुकाको विमोचित कृति सफलताको कामना र गीतकारलाई बधाई दिए ।

कार्यक्रममा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, डा.सुकराज राई, खोटाङ्ग सेवा समाजका अध्यक्ष राकेश राई, संगीतकार शुरेश अधिकारी, डा.विष्णु राई, हंगकंग बाट आएका किन्दर राई, विमोचित कृतिहरुका सर्जक जानुका राई लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । भिमु मेमोरियल ट्रष्टको सहयोगार्थ सहयोग गर्ने कलाकारहरु राजेश पायल राई, गायक जितेन राई , संगीतकार सुरेश अधिकारी,गायक रामकृष्ण ढकाल, गायिका पार्वती राई, कृष्ण थापा मगर,धन थापा मगर,दिपचन्द्र राई,उषा गजुरेल, मेलिना राई, विष्णु चेम्जोङ्ग लगायत अन्यलाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बिएफ़बिएस रेडियोका म्यानेजिङ्ग डाईरेक्टर विनोद खड्का, संस्कृतिविद दिनेश त्रिपाठी लगायत अन्य बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सुरेन्द्र सुहाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । शिवकुमार राईको स्वागत मन्तव्य र कवि बम बानियाँले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ साहित्यकार तथा पुर्व कुलपति वैरांगी काइँला

कार्यक्रममा विमोचित एल्बमको गीत गाउदै गायिका पार्वती राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *