क्रान्तिकारी पत्रकार महासंघको बैठक सम्पन्न

बाँके – क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आउँदो शनिबार नेपालगञ्जमा ‘साना लगानीका मिडिया र श्रमजीवि पत्रकारको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । महासंघको नेपालगञ्जमा विहिबार सम्पन्न जिल्ला समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

महासंघका जिल्ला अध्यक्ष दिनेश कुमार श्रीवास्तवको अध्यक्षता एवं महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी र पार्टी केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको विशेष आथित्यतामा सम्पन्न बैठकले साना लगानीका सञ्चार माध्यमहरूको सञ्चालनमा राज्य जिम्मेवार विहिन भएकाले सबै श्रमजीवि पत्रकारहरूले राज्यलाई दवाव दिन विभिन्न प्रकारका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज न्यौपानेले राज्य जनताको पक्षमा नदेखिएको भन्दै संघर्षको पक्षमा पत्रकारले कलम चलाउनु पर्ने बताए ।

नेता न्यौपानेले जनताको पक्षमा चल्ने पत्रकारको कलम बन्दुक भन्दा शक्तिशाली हुने बताउदै न्याय र समानताको लागि सबैलाई आ-आफ्नो ठाउँबाट भूमिका खेल्न र क्रान्तिको दिशामा अघि बढ्न आग्रह गरे ।

त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका नेता जैसीले राज्यले साना लगानीका सञ्चारमाध्यमलाई सौतेनि व्यवहार गरेको आरोप लगाए । उनले भने-‘राज्य साना लगानीका मिडियामा लगानी गर्न चाहेको छैन, यो पूजिपति वर्गको राज्य भएकाले जनपक्षिय मिडियाको अवस्था समस्या ग्रस्त बन्दै गएको छ: यस्का विरूद्धमा संघर्ष जरूरी छ ।’

उनले पूजिपति वर्गको पक्षपोषण गर्ने र एकाघ सामन्तको गुनगान गाउने मिडियामा करोडौ लगानी गर्ने सरकार जनपक्षिय, साना लगानीका मिडियाको संबर्धनमा किन मौन छ ? भन्दै राज्य प्रति प्रश्न गरे ।

उनले श्रमजीवि पत्रकारको हक, हित र अधिकारको लडाई क्रान्तिकारी पत्रकार महासंघले निरन्तर गर्ने बताउदै राज्यलाई पत्रकारको अवस्था र मिडियाको सञ्चालनका विषयमा सचेत नभए पत्रकारले राज्य विरूद्ध कलमबाट बुलेट प्रहार गर्ने चेतावनी समेत दिए ।

महासंघले सनिवार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सम्बन्धित निकायहरू, पत्रकार तथा सबै सरोकारवालाहरूलाई आमन्त्रण गरिएको समेत जनाएको छ ।

बैठकको समापन गर्दै महासंघका अध्यक्ष श्रीवास्तवले पत्रकार महासंघ अझै पनि सबैको साझा संस्था बन्न नसकेको प्रति दुख व्यक्त गर्दै सबै विभेदहरूलाई संघर्षबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *