काठमाडौमा मोटर साइकल चलाउन प्रतिबन्धको तयारी

काठमाडौं २ असार- सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल संचालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो ।

मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ । सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न, दुर्घटना न्यूनिकरण गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

‘उपत्यका पुरैमा मोटरसाइकल हटाउँदा ठूलो समस्या हुने भएकाले हामीले चक्रपथ भित्रमात्र रोक लगाउने विषयमा सरोकारवालासँग छलफल थालेका छौं,’ भट्टराईले भने, ‘यसले सहरको सुन्दरता बढाउनुको साथै प्रदूषण र दुर्घटना कम गर्न मद्दत मिल्ने अपेक्षा छ ।’ –कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *