काठमाडौ २ माघ – काठमाडौंको ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिए पछि असन क्षेत्रलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ ।
अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको र यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध हुने बताईएको छ । काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । आजै बिहानैदेखि निषेधित क्षेत्र कार्यान्वयन गर्ने तयारी भए पनि बोर्ड राख्न ढिलाइ भएकाले केही घण्टा ढिला कार्यान्वयन हुने छ ।
काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ । साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले झन् सास्ती खेप्नुपर्दछ । त्यसैले सहजरुपमा आवतजावतको व्यवस्था मिलाउन चारपांग्रे गाडी निषेध गरिएको बताईएको छ ।