तराई, पहाड र हिमाल सबै ठाउँमा एउटै किसिमले सेना परिचालन हुन्छ : रक्षामन्त्री प्रधान
‘‘ढुक्क हुनुहोस्, कांग्रेसले बुहमत ल्याउँछ, वाम गठबन्धनलाई पराजित गर्छौ’’
काठमाडौं, १७ कातिक – रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘मधेश, पहाड र हिमाल सबै ठाउँमा एउटै तरिकाले सेना परिचालन हुन्छ, कुनै एक क्षेत्रमा विशेष रुपमा सेना परिचाल नगर्ने निर्णय भएको छैन्।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कार कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेसबाट उम्मेद्धवार समेत बनेका रक्षामन्त्री प्रधानले अहिले मुलुकमा अतिवाद र उग्रवादको बीचमा चुनाव हुन गैरहेकोले चुनावको सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने पूर्ववर्ती निर्णय यथावत नै रहेको बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मधेशमा विशेष रुपमा सेना परिचालन गर्ने भनेर अहिले कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे । मन्त्री प्रधानले भने,‘अहिले मधेशमा कुनै संवेदनशीलता देखिएको छैन, सबै ठाउँमा उही हो, मधेश र पहाड दुवै क्षेत्रमा सेना उही रुपमा परिचालन गर्छौं, यो निर्णय पनि अहिले भएको होईन, एक महिना अघि नै भएको निर्णय हो।’
उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरे । उनले थपे,‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस वा जितोस भन्नेमा कुनै चिन्ता छैन, चुनाव हुनु नै हाम्रो जित हो, राष्ट्रको जित हो।’ ०६४ को निर्वाचनमा पनि आफ्नो पार्टीले चुनाव हार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोइरालालाई थाहा हुँदाहुँदै पनि मुलुकले जित्ने देखेर चुनाव गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे ।
माओवादी केन्द्रले चुनावको मुखमा आएर एमालेसँग् गठबन्धन गर्नु असुरक्षित महशुस गर्नु नै भएको आरोप लगाउँदै प्रधानले भने,‘अहिले गठबन्धन बन्नुको मुख्य प्रभाव भनेको नै ३ प्रतिशत थ्रेस होल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षित महशुस गर्यो, र एमालेको सत्ता आशक्तले गर्दा यस्तो भयो।’
अहिले चुनावको मुखमा कांग्रेसभित्र गुटैगुट छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री प्रधानले भने,‘हरेक पार्टीमा गुट छ, अमेरिकाको डेमोक्रेटिक पार्टीमा त ओबामा र हिल्लारी क्लिन्टनहरुको बेग्लाबेग्लै गुट छ।’
यद्धपी उनले उम्मेद्धवारी दर्ताको बेला बागी उम्मेद्धवारी दर्ता भएको घट्नालाई नौलो रुपमा नलिनको लागि समेत आग्रह गरे । उनले थपे,‘तपाईहरुले गोविन्दराज जोशीको कुरा गर्नुभएको होला, जोशीले रामचन्द्रजीको विरुद्धमा उम्मेद्धवार दिनु गुट होईन, यो त धेरै पहिले देखिको व्यक्तिगत टकराव हो, पार्टीगत होईन, यसले केही असर गर्दैन्।’
मन्त्री प्रधानले आफ्नो चुनावी क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीलाई चुनावी मैदानमा स्वागत रहेको बताएका थिए । उनले थपे,‘झक्कुजीलाई स्वागत छ, आगामी दिनमा समेत यसरी नै चाहार्दै जानुहोला।’उनले आफूहरुलाई निषेधको राजनीतिमा कुनै रुचि नै नभएको भन्दै सबैलाई स्वच्छ प्रतिष्पर्धामा ल्याउने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए ।
उनले भने,‘हाम्रो पार्टी भनेको सबैसँग सहकार्य गरेर जानुपर्छ भन्ने हो, हुन त हाम्रै पार्टीको नेतवत्ृमा संविधानजारी भयो, चुनाव पनि हाम्रै पालामा भयो, मधेशमा चुनाव भयो, अब पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष, धाँधली रहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न गैरहेका छौं।’
मन्त्री प्रधानले आफ्नो चुनावी एजेण्डा भनेको नै पार्टीले चुनावी घोषणपत्र सार्वजनिक गरिसकेकोले अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि नै भएको बताए । उनले भने,‘हुन त आजको दिनसम्म हामीले जे जति राजनीतिकउपलब्धिहरु हाँसिल गर्यौं, ती सबै अस्थिरताका बीचमा हाँसिल गरेका छौं, अब ती सबै उपलब्धिहरु संस्थागत गर्नु र संविधान कार्यान्वयन गर्ने चरणमा हामी छौं, चुनाव सम्पन्न भएपछि मुलुक स्थायित्व र आर्थिक समृद्धितर्फ अघि बढ्छ।’
उनले एमाले–माओवादी केन्द्र वीच बनेको गठबन्धन वामपन्थी वा कम्युनिष्ट गठबन्धन केही नभएर चुनाव जित्न र सत्ता लिप्साको लागि मात्रै भएको आरोप लगाए । उनले थपे,‘त्यसैले जनतालाई कुन पार्टी ठिक वा बेठिक भन्ने कुरा राम्रोसँग थाहा छ, जनताको मत अब कांग्रेसलाई खस्छ।’उनले यो चुनावको पक्षधर कांग्रेस भएकोले आफूहरुलाई जनताको उत्साहजनक मत आउने विश्वास दिलाए । त्यस्तै उनले हालै कमलादीमा भएको गोली काण्डको घट्ना आफूहरुको विषय नभएकोले गृहमन्त्रालयले हेरिरहेको जनाए ।
झक्कु सुवेदी भन्छन्,‘अब म भोलिदेखि ६ नम्बर क्षेत्रमा डेरा सर्छु, त्यहाँका जनताले मलाई नै मत हाल्छन्’
वाम गठन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार बनेका झक्कुप्रसाद सुवेदीले अबको निर्वाचन पछि वामपन्थीहरुले अत्यधिक बुहमतको सरकार बनाउने र देशलाई समृद्धितिर लैजाने भएकोले आफूले जितेपछि जनताको सेवामा समर्पित हुने विश्वास दिलाए ।
सुवेदीले वामपन्थीहरुको सरकार बनेपछि मुलुकमा रोजगारी सिर्जनाहुने र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो मुख्य एजेण्डा भनेको नै आर्थिक समृद्धि र राष्ट्रिय स्वाधिनता नै हो, त्यस्तै गरिबी उन्मुलन र स्वदेशमा रोजगारी खोल्ने हो।’
उनले आफू भोलिदेखि जनताको घरदैलोमा निस्किने समेत जनाए । सुवेदीले थपे,‘भोलिदेखि म जनताको घरदैलोमा जाँदैछु, म हरेक जनताको समस्या सुन्नेछु, त्यहीअनुसार के गर्न सक्छु भन्ने कुराको म प्रतिबद्धता जनाउनेछु, तर जनता सामू गरेका सबै वाचाहरु पूरा गर्नेछु।’
उनले आफूले ठाउँ परिवर्तन गरेको भन्दापनि पार्टीले दिएको जिम्मेवारीलाई समय सापेक्ष पूरा गरेको उल्लेख गर्दै भने,‘म ११ वर्षदेखि काठमाडौंमा छु, यहाँका जनताहरुको सेवामा छु, हिजोका दिनमा म २ नम्बर क्षेत्रका जनताहरु सँग थिएँ, ०६४ को निर्वाचनमा मलाई २ नम्बर क्षेत्रका जनताहरुले अत्यधिक बहुमतले विजयी गराउनुभयो।’ उनले आफू कोटेश्वरमा बस्ने भएकोले त्यहाँका र त्यो क्षेत्रका जनताहरुको ऋणि भएको समेत स्विकार गरे ।
त्यस्तै उनले आफू कोटेश्वरमा पनि भाडामा बस्ने भएकोले अब ६ नम्बर क्षेत्रमा सर्ने समेत योजना सुनाए । उनले भने,‘जहाँ जिम्मेवारी हुन्छ, त्यही सेवा गर्छु, अब म ६ नम्बर क्षेत्रका जनताहरुको सेवामा म समर्पित हुन्छु।’उनले काठमाडौंका मनोहरा कोरिडोर आफ्नो अवधारणा भएकोले यही नै आफ्नो जितको मुख्य आधार भएको जिकिर गरे । उनले आफू जनताको दुःखको साथी बन्नको लागि चुनावी मैदानमा होमिएको समेत स्पष्ट पारे ।
विवेकशीलका उम्मेद्धवार चिलुवाल भन्छन्,‘कांग्रेस सागबाट गुन्द्रुक भैसक्यो’
विवेकशील पार्टीका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार रमेश चिलुवालले मुलुकमा पछिल्लो समय देखिएको असँगति र विसँगतीको विरुद्धमा आफ्नो उम्मेद्धवारी भएको स्पष्ट पारे । उनले भने,‘म यो गर्छु उ गर्छु भनेर उम्मेद्धवार बनेको होईन, यो क्षेत्रको असल प्रतिनिधित्व भएर देखाउँछु, अरु केही सस्तो नारा हाम्रो छैन्।’
त्यस्तै उनले आफू पहिले कांग्रेस भए पनि कांग्रेस अहिले सागबाट गुन्द्रक भैसकेकोले अब गुन्द्रुक कुनै पनि हालतमा साग बन्नै नसक्ने आरोप लगाए । उनले थपे,‘कांग्रेस भनेको नोकियाको फोनजस्तै भयो, अब अहिले त सामसुङ स्मार्टफोनको जमाना हो।’ उनले आफूहरु कुनै दल सँग पनि मिसिने सम्भावना नरहेको जिकिर गरे ।
काठमाडौं ६ का उम्मेद्धवारले हातमिलाउँदै भने,‘हामी स्वस्थप्रतिष्पर्धा गर्छौं’
काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवारहरुले अबको निर्वाचनमाआफूहरुले स्वस्थ प्रतिपष्र्धा गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमा नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेका रक्षामन्त्री समेत रहेका नेता भीमसेनदास प्रधान, वाम गठबन्धनबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी र विवेकशील पार्टीका उम्मेद्धवार रमेश चिलुवालले पत्रकार निर्वाचनमा आफूहरुको स्वस्थ प्रतिष्पर्धा हुने भन्दै क्लबले आजबाट सुरु गरेको चुनावी अभियानले आफूहरुलाई हर्षित बनाएको धारणा राखेका थिए ।
क्लबका सभापति ऋषि धमलाले आजैबाट क्लबले देशव्यापी रुपमा चुनावी अभियान चलाउन सुरु गरेको समेत जनाए । उनले भने,‘चुनाव स्वच्छ, भय रहित, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्नको लागि हामी अब मेचीदेखि महाकाली सम्म चुनावीअभियान लिएर निस्किन्छौं, हामी सबै उम्मेद्धवारहरुलाई एक ठाउँमा राखेर चुनावी बहस गर्छौं, चुनाव सफल रुपमा सम्पन्न हुनु नै संविधान कार्यान्वयन भएर मुलुक समृद्धितिर जान्छ।’