कविता
यो कथा उनको होइन
—————————-
आज धेरै बात मारिन् उनि
गुनासोहरु पोखिन्
अतितहरु खोतलिन्
आफैसंग लडिन्
आफैलाई कोसिन्
जवानिहरु सम्झिन्न
दुखाईहरु सुनाईन्
रुईन्न, चिच्याईन्न
के के हो के भनिन्
कहिले आँशु झार्दै
कहिले चिच्याउदै
कहिले केहि बिर्सेझैं
कहिले केहि सम्झेझैं
कहिले सास रोक्दै
कहिले औला टोक्दै
कहिले सामान फाल्दै
सारा ताकत खर्च गरिन्
तर,
उनको कुरो अनि गुनासाहरु
खोई त्यो बन्द कोठाले सुन्यो सुनेन
भित्ताले बुझ्यो बुझेन
हल्लिरहेका पर्दाहरुले सान्त्वना
दिए दिएनन्
हरेक बर्ष उनको उमेर पल्टाउने
भित्ते पात्रोले अप्ठ्यारो मान्यो मानेन
पल्लो कुनाको थन्किएर बसेको
त्यो पुरानो टेलिभिजनले
उनको खबर आफन्त सम्म
पुर्याउन सक्छ सक्दैन
तर,
मैले सुने
मैले देखें
मैले हेरें
मैले बोलाएँ
मैले कराएँ
मैले झक्झाकाएं
म संग संगै
बतासले पनि
पर्दा हल्लाउदै सुनेर गयो
भित्ताको घडीले झन्डै आँशु झार्यो
कोठा सुनसान भयो
माहोल अशान्त बन्यो
ऊ पल्टीरहेको थियो पलंग माथि
फ्याँकिएको पुरानो धूसा कम्मल
जस्तै असरल्ल मन च्यातेर
देखेर उसलाई
अब ऊ उठेर बस्न नसक्ने
रिल्काईनर कुर्सि एकोरियो
झ्यालका गमलाहरु टोलाउन थाले
छेउको सोकेस भरि
हरेक सालका बर्थ डे कार्ड थिए
त्यहाँ थिए,
एउटा नयाँ सालको नयाँ कार्ड संगै
ठुलो अक्क्षरमा लेखिएको नयाँ हालैको बर्थ डे कार्ड
जसमा लेखिएको थियो
ह्याप्पी बर्थ डे मम
लभ यु सो मच
यु आर नाउ वान हन्ड्रेड फोर ईयर्स वल्ड
ति सबैको साँक्षि म
टोलाएर सोचिरहें
यदि ऊ बोल्न सक्ने भए
आफ्ना अतित सम्झन सक्ने भए
उनको अतित खोतलेर
म पनि,
१०४ बर्ष पुरानो कथा लेख्ने थिएँ
यो कथा उनको होइन, बर्तमान हो !!!!!
जानू काम्बाङ् लिङ्ग्देन
हाल बेलायत