ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे खुल्ला छौं : श्रेष्ठ

काठमाडौ ६ फागुन- संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु ओली नेतृत्वको सरकारमा जाने संकेत गरेका छन् ।
श्रेष्ठले भने,‘हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर हाम्रा माँग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ, राष्ट्रिय एकता कायम होस् भन्ने हाम्रो चाहना हो।’ उनले अहिले राष्ट्रिय एकताको मुल आधार नै संघीयता भएकोले सबैलाई समेट्नेगरि अघि बढ्नुपर्ने बताए ।
श्रेष्ठले एमाले र माओवादी केन्द्रवीचको एकता सफल होस् भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘उहाँहरुवीच एकता होस्, हामीसँग पनि सहकार्य होस्, तर माओवादी केन्द्रसँग एकता भएन भने एमालेसँग एक्लै सरकार बनाउने म्याण्डेट छैन, त्यसैले छिटोभन्दा छिटो एकता होस् र हामीसँग वार्ता गरोस् भन्ने चाहना हो।’
ठूलो पार्टी भएको नाताले एमालेले माओवादीसँग सन्तुलित भएर एकता कायम गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अब एकता हुन सकेन भने हामीसँग त राम राम भन्नेबाहेक अर्को विकल्प छैन।’
श्रेष्ठले एमालेले पनि हिजोको आँखाले आफूहरुलाई नहेर्ने विश्वास दिलाए । उनले एमाले ठूलो पार्टी भएकोले प्रतिपक्षमा बस्ने अवस्था नआओस् भन्दै सचेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *