उपन्यासकार शान्ति लिम्बुको “मिलिजुली” विमोचन कार्यक्रम सम्पन्न

ललितपुर ३० बैशाख- नेपाली साहित्य क्षेत्रमा उपन्यास विधाको नयाँ पुस्तक “मिलिजुली” विमोचन गरिएको छ । वेलायतमा रहेर नेपाली साहित्यमा कलम चलाउने उपन्यासकार शान्ति लिम्बुले लेखेकी उक्त उपन्यास शनिबार किरात याक्थुङ चुम्लुङ ललितपुरको भवनमा विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले उपन्यास विधाको उक्त पुस्तक विमोचन गरेका हुन्  । साहित्यकार शान्ति लिम्बुको यो पहिलो उपन्यास हो ।

उपन्यासको समिक्षा गर्ने क्रममा साहित्यकार उपेन्द्र सुब्बाले लिम्बू जातिहरूले कवितामा जसरी सरल रूपले आफ्ना भावना अभिव्यक्त गर्न सक्छन्, आख्यानमा निकै कसरत गर्नुपर्ने भएकोमा शान्ति लिम्बूले भने उक्त कसरत पार गरी उपन्यास नै प्रकाशनमा ल्याउन सफल भएकोमा सह्राना गरेका थिए ।

अर्का समिक्षक डा. गोविन्दराज भट्टराईले भने “पछिल्लो समयमा चारजना सर्जकहरूले फरकफरक परिवेशका कृति ल्याए पनि सार सन्देश मुलुककै चिन्तामा डुबेको” बताएका थिए । डा. भट्टराईले अहिले लिम्बू साहित्यकारको अध्ययनसमेत गरिरहेको बताउँदै शान्ति लिम्बू दोश्रो लिम्बू महिला उपन्यासकार भएको दावी गरे । यद्यपि लिम्बू महिला उपन्यासकारको कोणबाट हेर्ने हो शान्ति चौथो हुनसक्छिन् । यसभन्दा अगाडि अप्सरा लावती, मिला इङनाम इक्सा र सरिता विवश पहाङ्गोका उपन्यास बजारमा आएका छन् ।

कार्यक्रमको बिचमै साक्षात्कार कार्यक्रम समेत गरिएको कार्यक्रममा लेखिका शान्तिले उपन्यास लेख्नुको रचनागर्भ र लेखनका बेला गरिएको अध्ययनको चर्चा गरेकी थिइन् । पत्रकार विष्णु सिंगक सँगको साक्षात्कारमा लेखकले पोडियममा बोल्नुपर्दा धेरै कुरा छुटाउने तर यस्तो कार्यक्रमले भने पुस्तक लेखनको सिंगो पेरीफेरी नै आउन सकेको समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *