आयल निगम जग्गा खरिद प्रकरणमा कोहि दोषी पाईए, एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्छु : मन्त्री मण्डल

काठमाडौं, २० साउन- आपुर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने चेतावनी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि र उक्त खरिद प्रक्रियामा अनियमितता पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने बताएका हुन् । उनले भने,‘जग्गा खरिद प्रकरणमा यदि अनियमितता भएको पाईए र संसदीय समितिले अनियमितता भएको प्रतिवेदन दिन्छ भने म एक मिनेटपनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्छु।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खरिद प्रक्रियामा अनियमितता पाईए दोषीमाथि कारवाही गर्न आफू पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले भने,‘दोषी देखिए म एक मिनेटपनि ढिलाई नगरीकन कारवाही गर्छु, म कसैको दबाब, हस्तक्षेप स्विकार गर्नेवाला छैन, कारवाही गरेरै छाड्छु।’

यद्धपी उनले जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको उल्लेख गर्दै भने,‘तेल भण्डारणको लागि जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको हो, तर यहाँ नियत र प्रक्रियाको कुरा महत्वपूर्ण छ, खरिद गर्ने नाममा अनियमितता र दुरुपयोग भएको पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही हुन्छ।’

त्यस्तै उनले उक्त प्रकरणबारे सत्यतथ्य जतिसक्दो चाँडो बाहिर ल्याउनको लागि मिडियाले संसदीय छानबिन समिति, र सार्वजनिक लेखा समिति तथा अर्थ समितिलाई मिडियाले दबाब दिनुपर्ने समेत सुझाए । उनले आक्रोश पोख्दै भने,‘कुरा धेरै नगरौं, अब काम गरौं, त्यसैले यसबारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन समितिहरुसँग मिडियाले दबाब दिनुहोस्, छानबिनको प्रतिवेदन बाहिर आएपछि काम गर्न सजिलो हुन्छ।’

त्यस्तै उनले आपुर्तिसम्बन्धी सामाग्रीहरुमा कालोबजारी गर्ने र दुई नम्बरी गर्नेहरुलाई कुनैपनि मुल्यमा छुट नदिने समेत चेतावनी दिए । उनले भने,‘कालोबजारी गर्नेहरुलाई कुनैपनि मुल्यमा छुट दिईँदैन्, जुनसुकै व्यक्ति वा व्यवासायी भएपनि कालोबजारी गर्नेलाई हदैसम्मको कारवाही हुन्छ।’

उनले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रियाबारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि यसअघि नै निर्देशन दिईसकेको जानकारी दिए ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन । विचौलियामार्फत ठूलै कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको आरोप छ।

त्यस्तै उनले चाडपर्वहरुमा कुनैपनि किसिमको मुल्य वृद्धि नहुने समेत विश्वास दिलाए । मन्त्री मण्डलले भने,‘चाडपर्वहरुमा अतिआवश्यक वस्तुहरुको कुनै अभाव हुनेछैन, र मुल्यवृछि पनि नहुने म विश्वास दिलाउँछु।’ मुल्य वृद्धि रोक्नेबारे आफूले उत्पादक कम्पनीहरुसँग पनि आज विशेष छलफल गर्ने उनले जनाए ।

मन्त्री मण्डलले कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई समेत आफूले नछोड्ने चेतावनी दिए । उनले भने,‘विभागीय मन्त्रीको नाताले म आँफै यी विषयहरुमा गम्भिर छु, जनतासँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय संवेदनशील छ, अब यसलाई यही स्पिरिट अनुसार अघि बढाउनुपर्छ।’

उनले विभागीय मन्त्रीको हिसाबले आफूले गलत गर्ने जो कोहीलाई पनि उन्मुक्ति नदिने चेतावनी दिए । मण्डलले आफ्नो कार्यकालमा गुणात्मक परिवर्तन गर्न नसकेपनि जनतामा राहत हुनेगरि काम गरेर देखाउने विश्वास समेत दिलाए । उनले भने,‘कालोबजारी गर्नेहरुलाई मुटुमा ढ्याँग्रो ठोक्नेगरि कारवाही गर्छु।’ त्यस्तै हालै खाना पकाउने ग्याँसको मुल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटेकोले सोही अनुसार तत्काल डिजेल र पेट्रोलको मुल्य नबढ्ने समेत उनले बताए ।

मन्त्री मण्डलले पेटो«लियम पदार्थमा देखिएको लिकेज अन्त्यको लागि पनि आफूले पहलकदमी लिने विश्वास दिलाए । उनका अनुसार भारतमा डिजेल, पेटो«ल आयात गर्दा रक्सौल नाकाबाट आउने तेलहरु कम देखिने तर सिलगुढी नाकाबाट आउनेहरुमा नघट्ने देखिएको छ । भारतका प्रत्येक प्रदेशहरुमा नै क्यालिवेरेशन फरक फरक देखिएकोले दिर्घकालिन रुपमा टेक्निकल समस्याहरु समाधान गर्न आफूले पहल लिने मन्त्री मण्डलले विश्वास दिलाएका हुन् ।

त्यस्तै उनले कर्णाली लगायत अति आवश्यक खाद्यान्न चाहिने सुचिकृत जिल्लाहरुमा आफूले खाद्यवस्तुहरु पुर्याउन निर्देशन दिईसकेको समेत जनाए । उनले भने,‘विदेशी सहायताबाट आएका चामलका बोराहरु यहाँ गोदाममा कुहिएर बसेका छन्, ती खाद्य सामाग्रीहरु अतिआवश्यक ठाउँमा पुर्याउनको लागि मैले निर्देशन दिईसकेको छु।’ उनले नेपालीहरुमा धन भएको तर ढंग नभएको, र मन भएको तर उत्साह नभएको जस्तो देखिएकोले यो परम्परालाई आफूले अन्त्य गर्ने समेत बताए ।

उनले हवाई वा अन्य कुनै माध्यमबाटपनि विकट जिल्लाहरुमा अतिआवश्यक खाद्यवस्तु पुर्याउनको लागि आफू दृढ रहेको जनाए ।

फरक प्रसँगमा उनले संविधान संशोधनको लागि सरकारले गम्भिर पहल गरिरहेको समेत बताए । मन्त्री मण्डलले भने,‘अघिल्लो सरकार अर्थात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नै संशोधन प्रस्ताव ल्याएको हो, तर दुई तिहाई नपुगेकोले प्रस्ताव पारित हुन सकेन।’ उनले संशोधन अनिवार्य रहेकोले यसको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयास गरिरहेको छ, एमालेले पनि सहयोग र समर्थन गर्यो भने प्रदेश नम्बर २ को निर्वाचन अघि नै प्रस्ताव पारित हुन्छ, होईन भने संभावना छैन।’

उनले प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले प्रयत्न गर्ने विश्वास दिलाए । उनले असन्तुष्ट दलहरुलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मन्त्री मण्डललाई खादा लगाएर सम्मान गरेका थिए । धमलाले जनताको मन जित्नेगरि काम गर्न समेत मन्त्री मण्डललाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *