समाजसेवाको नाममा कालो धन्दा, नक्कली नोट र नोट बनाउने मेशिनसहित पक्राउ

वुटवल २५ जेठ- नक्कली नोट छाप्ने मेशीनसहित एक जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । नक्कली नोट र छाप्ने मेशीनसहित पक्राउ परेका रुपन्देहीको कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगर बस्ने २१ वर्षीय सन्तोष मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सन्तोषका साथबाट एक हजार दरको १ लाख नक्कली नोट र उत्तिकै परिमाणमा सक्कली नोटसमेत बरामद भएको छ ।
त्यसैगरी सन्तोषले सञ्चालन गर्ने असहाय व्यक्तिको सहयोगका लागि सञ्चालित भनिएको ‘अर्फन हेल्पीङ ह्यान्ड’ को कार्यालयबाट प्रहरीले १ हजार दरका २५९ वटा र १०० दरका ५ वटा नोटसहित नोट छाप्ने ‘फ्रि इन्क प्रिन्ट मेशीन’ प्रहरीले बरामद गरेको छ ।

बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकको शाखा कार्यालयबाट आफ्नो खातामा रहेको रु एक लाख निकालेर, बैंकबाट एक हजार दरका नोट पाएका उनले उतीबेलै कर्मचारीलाई नक्कली नोट दिएर ५ सय बराबरका नोट मागेपछि शंका लागी प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्दा सन्तोष पक्राउ परेका हुन् ।

सन्तोषले प्रहरीलाई दिएको बयान अनुसार यसअघि उनले एक लाखको गड्डीमा यौटा नक्कली हजारको नोट घुसाएर र अर्कोपटक १४ वटा नक्कली नोट राखेर ब्यांकबाट रकम साटेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *