वरिष्ठ गायिका तीर्थकुमारी थापाको प्रमुख आतिथ्यमा अलग अभियानको जेठ शृंखला सम्पन्न

ललितपुर २७ जेठ – वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापा र लेखक–प्राध्यापक डा. विष्णु राईको विशेष उपस्थिति र प्रस्तुतिको साथमा अलग अभियानको जेठ शृङ्खला सम्पन्न भएको छ ।

डा. राईले ‘बिरानो’, ‘अवध नारायण…’, ‘फेसबुकको फोटो’, ‘मुखिताङको धामी…’, ‘यलुङको नयाँ फोटो’, ‘निर्दोष पहाड’ शीर्षकका कविता सुनाए । त्यसैगरी गायिका थापाले ‘डाँडामाथि बिहानै घाम लाग्यो’, ‘म त खादिन कुवाको पानी’, ‘दाइ कहाँको ?’ लगायतका गीतहरु प्रस्तुत गरिन् । उनलाई युगल गायनमा गायक सङ्गीतकार रत्न वेहोसी बज्राचार्यले साथ दिएका थिए ।

अतिथिको अलवा कविहरु मुक्तान थेबा, प्रकाश गुरागाइँ, साङ्केन बान्तवा, वन्दना राई, अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, नारायण नेपाल, डिपलभ राई, बालकृष्ण लगायतले कविता वाचन गरे । सुनिता थेगिमले कवि जसराज किरातीको शब्दलाई मण्डल साम्पाङको सङ्गीतमा प्रस्तुत गरिन् भने आभा मुकारुङले साङ्केन बान्तावाको शब्दलाई भिमसेना राईको सङ्गीतमा प्रस्तुत गर्दा वाद्यवादनतर्फ हार्मोनियममा मण्डल साम्पाङ, बाँसुरीमा पावल थुलुङ, तबला  मादलमा यमकुमार समाल, गिटारमा भिमसेना राई र नाकिमले साथ दिएका थिए ।

अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ जहाँ नयाँ पुराना स्रष्टाहरुले गीत कविता प्रस्तुत गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *