माओवादी केन्द्रका केन्द्रीय सदस्य गिरीद्वारा पार्टी परित्याग

काठमाडौं २५ जेठ काठमाडौं
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुलानन्द गिरीले पार्टी त्याग गरेका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । देश र जनताको आवश्यकताभन्दा पार्टी नातागोता र गुटगत रुपमा चल्न थालेको भन्दै जनताको सेवा गर्ने कर्मलाई निरन्तरता दिन आफूले माओवादी केन्द्रबाट राजीनामा दिएको गिरीले बताएका छन् ।

बिहीबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गरी गिरीले क्रान्तिका झण्डा उठाउने शक्तिलाई साथ दिन र जनताको सेवा गर्न आफूले पार्टी परित्याग गरेको जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् पार्टीमा माथिदेखि तलसम्म नातावाद र गुटगत प्रवृत्ति लाद्न खराब हर्कत गरेको आरोप लगाए ।

पार्टी नेतृत्व रिमोर्टमा चल्ने, भ्रष्टाचार र त्यस वरपरका हनुमान प्रवृत्तिसामु निष्ठावान बनेर बस्न नसक्ने भएरै आफूले अन्यायविरुद्ध पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘पार्टी्भित्र व्यापक रुपमा नातावाद, कृपावाद, गुटबन्दी, भ्रष्टचारलगायतका विकृतिहरु मौलाइरहेको यथार्थ अघिल्ले स्थानीय निर्वाचनसम्म आइपुग्दा छताछुल्ला भएको छ । स्थानीय तहमा सक्षम र योग्य व्यक्ति होइन, आफना नातागोतार गुटका रिमोर्टमाचल्ने मान्छेहरुलाई पदस्थापन गरी हालीमुहाली चलाएर भोलिको प्रदेश र केन्द्रको निर्वाचन जित्न करोडपति बन्ने होडबाजीमा पार्टीका नेताहरु लागे । यस्तो परिस्थितिमा आफूलाई पार्टीका केही नेताहरुको हनुमान मात्र सावित गरेर आफैंमाथि परेको अन्याय सहेर बस्नु उचित नदेखी आजकै मितिमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिबाट राजीनामा गरेको छु’ गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विरोधीहरुको धाकधम्कीबीच पनि आफूले असार १४ को चुनावमा त्रिवेणी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने पत्रकार सम्मेलनमा घोषणा गरे । जित्ने दाबी समेत गरे । गिरी पार्टीका बुद्धिजीवि संगठनका पूर्वअध्यक्ष समेत हुन् ।
चुनावको मुखमा गिरीको परित्यागले रोल्पामा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *