नेपाल होचापुड्का संघले “होचा पुड्का कल्याणकारी कोष”को स्थापना गर्यो

ईन्द्र जिजीबिषा / काठमाडौ – नेपाल होचा पुड्का संघले काठमाडौमा एक कार्यक्रम गरेर होचा पुड्का कल्याणकारी कोषको स्थापना गरेको छ । होचा पुड्का संघका अध्यक्ष निर्मल मग्रातिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उक्त कोषको स्थापना गरिएको हो ।

होचा पुड्का व्यक्तिलाई समाजले मात्रै हैन, आफ्नै घरपरिवारले समेत अपहेलना गर्ने भएकोले, होचा पुड्काहरुको हकहितको लागि भनेर २०६० साल वैशाख १० गते स्थापना भएको होचा पुड्का संघले व्यक्ति सशक्तिकरणका लागि प्रयासहरु गर्दै आईरहेको छ । यो संस्थाले अहिलेसम्म वेकरी तालिम, अभिनय तथा नृत्य जस्ता व्यक्तित्व विकासहुने र आत्मनिर्भर बन्न सक्ने जस्ता अभिमुखीकरण तालिमको अवसर दिलाउदै आएको छ ।

होचा पुड्का व्यक्तिले रोजगारीको राम्रो अवसर नपाउने हुँदा दैनिक जीवन यापनमा पनि धेरै समस्याहरु आउने गर्छन् । आर्थिक अभावका कारण होचा पुड्का व्यक्तिहरुको अवस्था कष्टपूर्ण रहेको छ । यसैले समस्यामा परेका होचा पुड्का व्यक्तिहरुको लागि आकस्मिक सहयोगको लागी भनेर होचापुड्का कल्याणकारी कोषको स्थापना गरिएको संघले जनाएको छ ।

यो कोषले परिस्थिति हेरेर एकबर्ष भित्रमा अत्यन्त कमजोर अवस्था भएका र समस्यामा परेका होचापुड्का व्यक्तिलाई रु २५ हजारसम्म सहयोग गर्ने र एक बर्ष भित्रमा कल्याणकारी कोषमा रु २० लाख जम्मा गर्ने लक्ष्य लिएको संघले जनाएको छ । संकलित रकम बैंकमा जम्मा गरेर त्यसबाट आएको व्याजले विपन्न र समस्यामा परेका होचापुड्का व्यक्तिलाई राहत रकम प्रदान गरिने पनि संघले जनाएको छ ।

होचापुड्का संघको कार्यक्रममा “होचापुड्क कल्याणकारी कोष” को लागि कार्यक्रममा उपस्थित विभिन्न व्यक्ति व्यक्तित्वहरुले आर्थिक नगद सहयोग पनि प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा करिश्मा मानन्धरलाई बोलाईएको भएपनि उनि कार्यक्रममा उपस्थित भइनन् ।

कार्यक्रमको भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *