काठमाडौ – वि.सं. २०७५ वैशाख ३० गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच साहित्यिक सहकार्य गर्नेसम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र पाकिस्तानबीचको सम्बन्ध र मैत्रीलाई अझ विकसित गर्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुकका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पाकिस्तान एकेडेमीका महानिर्देशक रासीद हमिदले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार अब दुवै देशले आआफ्ना देशका कानुन तथा अन्तर्राष्ट्रिय नियमको परिपालना गर्दै एकअर्काका मुलुकका लेखक, कवि, समाजशास्त्री र अध्येतालाई एकअर्काका राष्ट्रको भ्रमणको व्यवस्था, दुवै प्रतिष्ठानबाट एकअर्काका देशमा पुस्तक प्रदर्शनी, संयुक्त सम्मेलन र गोष्ठी आयोजना गरिने छ ।
त्यसैगरी दुवै देशले एकअर्को देशका भाषामा लेखिएका साहित्यको अनुवादको व्यवस्था मिलाउने, प्रमुख लेखकका कृति प्रकाशन गर्ने तथा लेखक, कविको प्रशिक्षणको व्यवस्थालाई पारस्परिक रुपमा प्रोत्साहन गर्नेछन् ।
त्यस अवसरमा महानिर्देशक हमिदले नेपाल र पाकिस्तानका जनतालाई भाषिक एवं साहित्यिक रुपमा एकाकार गराउन तथा दुई मुलुकका स्रष्टाबीचको सम्बन्ध विस्तारका निम्ति प्रज्ञा–प्रतिष्ठानसँग समझदारी गरिएको बताउनुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले तक्षशिला र लुम्बिनीका बौद्धचैत्य, गुम्बा, अशोकस्तम्भ र मस्जिदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ भन्दै त्यसमा अनुसन्धान–अन्वेषण गर्न चाहने नेपालीलाई आर्थिक एवं भौतिक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बद्र्धनमा प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
उपकुलपति डा. विष्णुविभू घिमिरेले प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमीबीचको समझदारीले दुवै देशका स्रष्टाबीच छलफल र संवाद गर्न मार्गप्रशस्त भएको बताउनुभयो ।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि प्रा.डा. त्रिरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको दोस्रो सत्रको कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य बारे र पाकिस्तानी एकेडेमीका महानिर्देशक हमिदले पाकिस्तानी साहित्यबारे विशेष मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले नेपाली संस्कृतिबारे र पाकिस्तानी प्रतिनिधि मण्डलका सदस्य नउसाद खलिकले पाकिस्तानी इतिहास र सम्पदाबारे प्रकाश पार्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।