काठमाडौं १७ फागुन – काठमाडौंको वायु प्रदुषणको ५० प्रतिशत कारक सवारीसाधनले फाल्ने धुवाँ भएको अध्ययनहरुले देखाई रहेकोबेला नेपालमा युरो-४ मापदण्डका मात्रै गाडी आयात र दर्ता गर्ने तयारी शुरु गरिने भएको छ । अहिले सवारी साधन आयात गर्दा युरो–३ मापदण्ड अनिवार्य छ । विकसित मुलुकहरुले युरो–६ मापदण्ड लागू गरिसकेको अवस्थामा नेपालले भने अझै युरो–३ कै गाडी भित्र्याइरहेको छ ।
वातावरण मन्त्रालयमा लालबाबु पण्डित मन्त्री भए लगत्तै नयाँ आयात हुने सवारीमा युरो–४ मापदण्ड लागू गर्ने तयारी थालेका हुन् । युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो ।
छिमेकी देशको दक्षिण भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको शंका गरिएको छ ।