ट्राफिक नियम उल्लंघन गर्नेलाई दुइ हजार देखि तिन लाख सम्म जरिवाना र कैद सजाय

raffic-fineभदौ २९  काठमाडौं । सरकारले जताभाबी सवारी चलाएर हिड्नेलाई दण्ड जरिवानाको रकम बढाएरै सवारी नियम उल्लंघन गर्न हातोत्साहित गर्न खोजेको छ

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्‍याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

अहिलेसम्म यातायात व्यवस्था ऐनमा सवारी नियम पालना नगर्नेलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवाना लिने व्यवस्था छ ।

तर, अब कसुर अनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रस्ताव अघि सारिएको छ ।

विद्यमान नियम अनुसार लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा हाल २ हजार रुपैयाँ जरिवाना लाग्छ । तर, प्रस्तावित नियममा पाँच गुणा बढाइएको छ र अब यस्तो कसुर गरेमा १० हजार जरिवाना प्रस्ताव गरिएको छ ।

एउटा प्रयोजनमा ल्याइएको सवारीलाई अर्को प्रयोजनमा लगाउनेले पनि १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । निजी सवारीले भाडाका यात्रु बोकेमा र तोकिएको क्षमताभन्दा बढी मालसामान ढुवानी गरेमा पनि १० हजार रुपैयाँ जरिवाना लगाइनेछ ।

अब दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई १५ हजार रुपैयाँ जरिवाना हुनेछ । सवारीलाई पनि सरकारले जफत गर्नेछ ।

यस्तै विदेशमा दर्ता भएको सवारी अनुमतिविना नेपालमा सञ्चालन गरेको पाइएमा पनि यो सजाय हुनेछ ।

यतिमात्रै होइन स्वीकृति नलिई सवारीहरुले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्यासिसमा परिवर्तन गरेमा पनि यति रकम बराबरको जरिवाना लाग्नेछ । खासगरी पछिल्लो समय युवा पुस्तामा मोटरसाइकललाई स्टाइलिस बनाउने नाममा स्वरुप परिवर्तन गर्ने चलन पनि देखिएको छ । अब सरकारले तोकेको मापदण्ड बिपरित यस्तो गर्न पाइने छैन ।

अनुमति नलिइ यातायात सेवा चलाउनेलाई पनि  विभागले १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेको छ ।

यसैगरी तोकिएको भन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु बोकेमा पनि यो सजाय गर्ने प्रस्ताव गरिएको छ ।

सीटबाहेक छत, ढोका वा सवारीका कुनैपनि भागमा नियम विपरित यात्रु राखेमा समेत यही कारवाही हुनेछ । आवागमनमा अवरोध पुग्ने गरी सवारी पार्किङ गर्नेलाई पनि १५ हजार रुपैयाँ तिर्नुपर्ने हुनसक्छ ।

अनुमति नलिइ सवारी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप चलाएमा भने २५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।

सडक वा बाटो अवरुद्ध गर्ने गरि सवारी राखिएमा ५० हजार जरिवाना प्रस्ताव गरिएको छ ।

सीटबाहेक छत ढोका वा अन्य भागमा राखिएका बेला दुर्घटना भइ यात्रुको मृत्यु भएमा चालकलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनको संशोधन नया प्रस्तावमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था राख्न लागिएको छ ।

प्रतिस्पर्धात्मक तवरले सवारी सञ्चालन नगरी चक्रिय प्रणालीअनुसार सवारी चलाएमा ५ वर्ष कैद, २ लाख जरिवानासहित रुट इजाजतपत्र रद्ध गर्न सक्ने नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यसैगरी सवारीमार्ग परिवर्तन गरी यात्रु बन्धक बनाएमा २ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजायको प्रस्ताव गरिएको छ । चालक अनुमतिपत्र बिना सवारी चलाएर दुर्घटना गरी कसैको अंगभंग गराएमा पनि जेल सजायसहित ५० हजार रुपैयाँ जरिवाना गर्ने मस्यौदामा उल्लेख छ ।

नक्कली नम्बर प्लेट राखेर सवारी साधन चलाउनेहरुलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तथा बदनियतका साथ दुर्घटना गराएर कसैको अंगभंग भएमा ८ वर्ष कैद र तीन लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको अनलाइन खबरमा रबिन्द्र घिमिरेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *