काठमाडौं २५ जेठ – नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
जर्मन राजदूत मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै छन् । ११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजना रहेको राजदुतले बताएका छन् ।
योजनाअनुसार शनिबार बिहान ४ बजे ज्ञानेश्वरस्थित जर्मन दूतावासबाट कार यात्रा सुरु हुनेछ । दूतावास परिसरमा उहाँको यात्राका लागि मित्सुबिसी कार तयारी हालतमा राखिएको छ । एक जर्मन साथी र आफूले आलोपालो कार हाँक्ने राजदुत मायरले बताएका छन् ।
काठमाडौंबाट सुरु हुने उहाँको यात्रा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर एकरात बिताएपछि दोस्रो दिन महेन्द्रनगर पुग्नेछ । महेन्द्रनगरमा एकरात बिताएर सोमबार भारत प्रवेश गर्ने तयारीमा राजदूत मायर छन् । ‘लामो दूरीको यात्रा गर्ने मेरो सोख हो’, राजदूत मायरले भने, ‘मेरो कार यात्राका लागि सबै तयारी भइसकेको छ । आशा छ, यात्रा रमाइलो हुनेछ ।’ भारतपछि पाकिस्तानको बलुचिस्तान पुगेर रात बिताउने उहाँको योजना छ ।
पाकिस्तानमा उहाँलाई त्यहाँको सेनाले ‘एस्कर्ट’ गर्नेछ । इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै ह्यामवर्ग, जर्मनीमा रहेको आफ्नो घर पुगेर राजदूत मायरको यात्रा टुंगिनेछ । ती मुलुक हुँदै कार यात्रा गर्न उहाँले भिसा लीइसकेका छन् । अफ्रिकी मुलुक लिवियामा राजदूत हुँदा मायरले सहारा मरुभूमिको लामो यात्रा कारमै गरेका थिए ।