काठमाडौं २९ फागुन- चैत १ (बिहीबार)देखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई सडकमा गुड्न नदिइने भएको छ । ईलेक्ट्रिक र ग्यास टेम्पो, माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन । यातायात व्यवस्था विभागले देशैभर यो नियम नमाने पुराना सवारी जफत गरिने बताएको छ ।
अब कुनै २० वर्षे पुराना सार्वजनिक सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले बताएको छ । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
पुराना सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । पुराना सवारीको नामसारी पनि रोकिएको र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने भएको हो ।
अहिले कवाडीमा बेच्नुपर्ने झन्डै ५ हजार सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने अनुमानन छ ।
विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गर्छ । पहिले यो व्यवस्था थिएन । विभागले १५ वर्ष पुगेका सार्वजनिक सवारीको नामसारी रोक्ने भने पनि निर्णय गरिसकेको छैन ।
विभागले अहिलेसम्म २० वर्ष पुराना निजी र सरकारी गाडी हटाउने निर्णय गरेको छैन । पुराना सरकारीको संख्या पनि उच्च छ ।