गाला सुमसुमाएर देश बन्दैन, फोहोर गर्नेलाई अब ‘अन द स्पट’ डण्डा हान्नुपर्छ : मन्त्री पण्डित

काठमाडौं, ६ फागुन। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई अब ‘अन द स्पट’ कारबाही गरेर दण्डित गर्नुपर्ने बताएका छन् । उनले वातावरणलाई स्वच्छ राख्नको लागि निर्दयी कदम चाल्नुपर्ने भएकोले आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्त रुपमा नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘म ईमानदारीपूर्वक काम गर्छु, सबैको कुरा सुन्छु, देश र जनताको हितमा काम गर्छु।’

मन्त्री पण्डितले जनताले आफूले जिताएका प्रतिनिधिमार्फत देशको विकास र समृद्धि चाहेको भन्दै त्यसको लागि आफूहरुकाम गर्न तयारी अवस्थामा रहेको सुनाए । उनले भने,‘मैले वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, काठमाडौंलाई धुलोबाट मुक्त बनाउनुछ, मलाई सबैले यही प्रश्न गर्नुहुन्छ, मास्क लाउन नपर्ने दिन कहिले आउँछ भनेर ? अब म छिट्टै केही निर्णय लिन्छु, अहिले आन्तरिक परामर्शमा व्यस्त छु।’

उनले मन्त्री हुनुभन्दा पहिलेपनि आफू बाग्मती सफाई अभियानमा सहभागी भएको स्मरण गराउँदै भने,‘अहिले बाग्मती केही सफा भएको छ, फोहोर गरे दण्डित गर्नुपर्छ, यसमा म अब कठोर भएर प्रस्तुत हुन्छु।’ मन्त्री पण्डितले बाग्मतीको पानी थोरै ठाउँमा हात हाल्न सकिने तर धेरै ठाउँमा हातै हाल्न नसकिने अवस्थामा रहेकोले अब यसलाई स्वच्छ बनाउन सफाई अभियानलाई तिव्रता बनाउने विश्वास दिलाए ।

उनले फोहोर गर्नुहुँदैन है भन्ने अवस्था सिर्जना गर्नुपर्ने बेला आएको सुनाए । उनले भने,‘अब फोहोर गर्नेलाई डण्डा चलाउनुपर्छ, अन द स्पट डण्डा हान्नुपर्छ।’ उनले अधिकार र कर्तब्य सँगसँगै आउने भएकोले जे गर्दा पनि मानवअधिकार उल्लंघन हुन्छ भनेर त्यतिकै बस्न नहुने धारणा राखे । पण्डितले भने,‘गाला सुमसुमाएर र रोएरमात्रै देश बन्छ त ? हेरक क्षेत्रका दण्डहिनताको अब अन्त्य गर्नुपर्छ।’

उनले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउनको लागि आफू ऐन तथा नियम नै संशोधन गर्नपनि तयार रहेको सुनाए । उनले प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोले अब त्यस्ता खाले (प्लाष्टिकजन्य) उत्पादनहरुमा पनि ध्यान पुर्याउनुपर्ने बताउँदै भने,‘जस्तो चाउचाउको खोल कति समयभित्र डाईलुट हुन्छ ? यदि हुँदैन भने त्यस्ता उत्पादनहरुलाई बन्द गर्नपनि अब पछि हट्नुहुँदैन्।’

उनले फोहोर गर्ने काम कसले गरेको हो त भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘हामीले नै गरेको हो नि, यतातिर पनि ध्यान दिनुपर्छ, यो गलत काम गर्न अब कोही पनि अघि सर्नुहुँदैन।’ नेपालमा फोहोर गर्ने दायित्व मेरो हो तर सफा गर्ने दायित्व चाहीँ सरकारको हो भन्ने प्रवृत्ति देखिएकोले अब यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले आफू राष्ट्रिय सम्पदालाई नेपालीहरुको हितम प्रयोग गर्ने र वातावरणलाई मानवमैत्री बनाउने परिवर्तनको पक्षमा रहेको पनि सुनाए । उनले भने,‘हामी त हेर्नुहोस्, अहिले विहान उठेदेखि राति नसुन्जेलसम्म पनि मास्क खोल्न सक्ने अवस्थामा छैनौं, कतिपय काठमाडौंका घरहरुमा २ वर्षदेखि झ्याल खोलिएका छैनन्, मलाई त आश्चर्य लाग्छ, हामी कसरी बाँचेका छौं, यो उकुसमुकुसताको जीवनयापन अब बदल्नुपर्छ, स्वच्छसँग बाँच्नुपर्छ।’

उनले आयोजक संस्था र यसकी नेतृत्वकर्ता एवम् समाजसेवी राधिका पोखरेलले आफूलाई सम्मान गरेकोमा बधाई दिए । उनले भने,‘माला, दोसल्ला र प्रमाणपत्र दिएर जिम्मेवारीको भारी बोकाउनुभयो, म जिम्मेवारी बोक्न तयार छु, ईमानदारितापूर्वक काम गर्न तयार छु।’

संविधानको मर्म अनुसार न्यायमूलक समाज बनाउँछौं : मन्त्री थापा
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान कार्यान्वयन गर्नेतर्फ मुलुक अघि बढेकोले अबको सरकारको मुख्य ध्येय नै विकास र समृद्धि भएको सुनाईन् ।

उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने पनि विश्वास दिलाईन् । उनले भनिन्,‘वाम गठबन्धनको सरकार बनेको छ, राजनीतिक अस्थिरता समाप्त भएको छ, अब हामी संविधानको मर्म र भावना अनुसार नै नीति तथा कार्यक्रमहरु ल्याउँछौं।’

समाजमा अहिलेपनि व्याप्त रहेका सामन्तवादका रापतापलाई हटाएर समुन्नत समाजको निर्माण गर्नेमा पनि आफूहरु केन्द्रित हुने उनको भनाई थियो । उनले भनिन्,‘संविधानको मर्म अनुसार न्यायमूलक समाज बनाउने सोच छ, अबको मुख्य काम भनेको नै समृद्धि हो, विकास हो, नेपालीहरुलाई खुशी र सुखी बनाउने हो, हामी त्यतातिर केन्द्रित छौं।’थापाले आफूहरुलाई सम्मान गरेकोमा ट्रष्टकी अध्यक्ष राधिका पोखरेलाई बधाई दिँदै हार्दिक आभार व्यक्त गरेकी थिईन् ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले नवनियुक्त मन्त्रीद्धय पण्डित र थापाको नेपाली राजनीतिमा विशेष योगदान रहेकोले अहिले महत्वपूर्ण जिम्मेवारी सम्हालेको जनताको मन जित्नेगरि काम गर्न सुझाव दिईन् ।

उनले सूचना हकको बारेमा प्रकाश पार्दै सूचनाको पहुँच सबै नागरिकमा पुर्याउनुपर्नेमा समेत जोड दिईन् । उनले भनिन्,‘सूचनाको हक कार्यान्वयनको लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्छ, सरकारले कहाँ के गरिरहेको छ ? भन्ने कुरामा पनि जनताको सहज पहुँच हुनुपर्छ, यो विषयमा पनि माननीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुहुनेछ भन्ने मेरो विश्वास छ।’

कार्यक्रममा ट्रष्टकी अध्यक्ष एवम् समाजसेवी राधिका पोखरेलले आफू बाँचुञ्जेलसम्म समाजसेवामा समर्पित हुने विश्वास दिलाईन् । उनले आफू मन्त्री लालबाबुको कामबाट सुरुदेखि नै प्रेरित भएको सुनाउँदै भनिन्,‘मैले एक जना सादगी नेता देखेर नै उहाँलाई चुनावमा पनि सहयोग गरेकी हुँ।’
उनले आफू देश हाँसकेको हेर्ने पक्षमा रहेकोले निरन्तर आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले भनिन्,‘मैले उहाँहरुलाई आज सम्मानको साथसाथै ठूलो जिम्मेवारीपनि बोकाएको छु, देश र जनताको हितमा दत्तचित्त भएर काम गर्नुहोस्, मेरो हार्दिक शुभकामना पनि छ।’
पोखरेलले आफू अष्ट्रेलियामा बसेपनि नेपालको सेवामा सँधै समर्पित हुन मन पराउने व्यक्ति भएकोले आगामी दिनमा पनि अझ धेरै कामहरु गर्न बाँकी रहेको सुनाईन् । उनले भनिन्,‘म कसैसँग पनि माँगेर समाजसेवा गर्दिन्, बरु मेरो कमाईको ८० प्रतिशत म खर्चिन्छु, म नहुने कुरा गर्दिन्, जे बोल्छु, त्यो पूरा गर्छु।’

उनले अब नेपालमा चाईल्ड केयर सेन्टर खोल्ने योजनामा रहेकोले सरकारले जग्गाको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो भन्ने धारणा राखिन् । उनले भनिन्,‘बेवारिसे बच्चाहरुको लागि पढाउने, विद्यालय खोल्ने, क्याम्पस खोल्नेसम्मको मेरो चाहना छ।’ क्लबका सभापति ऋषि धमलाले कार्यक्रम सफल बनाउनको लागि सहयोग पुर्याएकोमा हार्दिक आभार व्यक्ति गरेकी थिईन् । कार्यक्रममा बाग्मती बचाउ अभियानका अभियन्ता केशब प्रसाद पुडासैनीले पनि आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *