कोमामा रहेकी, खोटाङ बाम्राङकी देवी लामा श्रेष्ठको ८० दिनपछि होस् आयो

काठमाडौं १२ बैशाख, कोमामा रहेकी, खोटाङ बाम्राङकी ३१ वर्षे देवी लामा श्रेष्ठको ८० दिनपछि होस् आएको छ। अस्टर अस्पताल युएईको मंखुलमा ८० दिन कोमामा बिताएपछि देवीको होस् आएको हो । उपचारमा संलग्न डाक्टरले देवीको स्वास्थ्यमा आएको सुधारलाई आश्चर्यजनक सुधारको रुपमा लिएका छन् । अस्पतालमा ल्याउँदा उनी बाँच्ने कमै आश रहेको अस्पताल स्रोतले बताएको छ ।

८० दिनसम्म सँगै अस्पतालमा बसेका श्रीमान् लोकेन्द्रले श्रीमतीको ज्यान गए आफूपनि श्रीमती संगै प्राण त्याग्ने बताएका थिए । देवी र लोकेन्द्र चेन कफिसपमा संगै काम गर्थे । कामकै शिलशिलामा भेट भएका लोकेन्द्र र देवीले गएको जुन महिनामा विवाह गरेका थिए ।

गएको जनवरीमा काम गरिरहेको बेला देवीलाई अचानक उच्च ज्वरो र वान्ता भयो । बिरामी हुँदा देवी ६ महिनाको गर्भवती थिइन् । देवीलाई श्रीमानले नै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएको तीनदिन पछि विरामले झन साह्रो पारेपछि देवीलाई आइसियुमा भर्ना गरिएको थियो । उपचारमा संलग्न डाक्टरका अनुसार उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो । गर्ववती अवस्थामा यो कसै-कसैलाई हुन सक्छ । फोक्सो सुनिएर पानी भरिनुका साथै, मुटु पनि कमजोर भएको थियो । मृगौला र कलेजो पनि संक्रमित भएको कारण जिवीत रहने संभावना कम थियो ।

यसरि धेरै वटा अंगले एक साथ काम गर्न छाडेपछि देवीको अप्रेसन गरियो तर बच्चा बजाउन सकिएन । सामान्यतया यस्ता विरामीलाई १४ दिन मात्रै भ्यान्टिलेटरमा राखिने भएपनि देविलाई तीन महिना बढि राखियो । अहिले,गएको अप्रील ९ देखि उहाँको स्वास्थ्यमा सुधार भएकोले आइसियुबाट सामान्य रुममा लगिएको छ । मांसपेशी बलियो पार्नको लागि फिजियो थेरापी गराईरहेको छ । यो सकिएपछि देवी नेपाल फर्किनु हुनेछ । गएको सय दिनको उहाँलाई केहि याद छैन । मात्र एउटा सपना याद छ । रेलमा यात्रा गरिरहेको कुरा मात्रै याद भएको देवीले बताउनुभयो । उहाँको उपचारमा संलग्न डक्टरले देवीलाई पूर्णरुपमा स्वस्थ हुन अझै ६ महिना लाग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *