काठमाडौं, २३ फागुन — उत्तर कोरियाले आणविक हतियार त्याग्ने कुरालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सतर्कतापूर्वक प्रतिक्रिया जनाएका छन् । ट्रम्पले भने, ‘दक्षिण कोरिया र उत्तर कोरियाबाट आएका बयानहरू एकदम सकारात्मक छन् तर यो गलत आशा पनि हुन सक्छ ।’
दक्षिण कोरियाका अधिकारीहरूले किम जोङ–उनलाई सोमवार भेट्दा गैरआणविकीकरणको मुद्दा उठेको दक्षिणले बतायो । किम अमेरिकासँग वार्ता गर्न तथा हतियार परीक्षण रोक्नका लागि तयार रहेको पनि सउलले बतायो । तर उत्तर कोरियासँग भएका अघिल्ला वार्ताहरूको कुनै परिणाम आएको थिएन । अनि प्योङयाङ आफैंले पनि यसबारेमा कुनै टिप्पणी गरेको छैन ।
ट्रम्पले भने, ‘हामी उत्तर कोरियाका सम्बन्धमा लामै बाटो हिँडिसकेका छौं ।’ प्योङयाङले दक्षिण कोरियाको प्योङचाङ ओलम्पिकमा भाग लिने निर्णयलाई पनि ट्रम्पले प्रशंसा गरे । तर प्योङयाङले गैरआणविकीकरण वार्ता गर्ने अफर गर्नुका पछाडि प्रतिबन्धहरू कारण रहेको र हामीले उत्तर कोरियालाई जे गरिरहेका छौं त्यसले दबाब दिएको पनि ट्रम्पले भने ।
अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अमेरिका ‘किम शासनलाई आणविक कार्यक्रम अन्त्य गर्नका लागि अधिकतम दबाब दिनका लागि प्रतिबद्ध रहेको’ बताए ।
यसै साताको अन्त्यतिर दक्षिण कोरियाली प्रतिनिधिमण्डलले वाशिङटनको भ्रमण गरेर अमेरिकी अधिकारीहरूलाई उत्तरसँगको वार्ताको बारेमा बताउने अपेक्षा गरिएको छ ।
बीबीसीबाट