काठमाडौं, २९ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको यूएस–बङ्गला विमान पहिले पनि सन् २०१५ को सेप्टेम्वरमा नीलफामारीस्थित सईदपुर विमानस्थलमा चिप्लिएको हुनसक्ने ढाकाट्रिब्यून पत्रिकाको अन्लाइन संस्करणमा छापिएको छ ।
ढाका जानका लागि उड्न लाग्दा यो विमान चिप्लिएको थियो । त्यतिखेर विमानमा ७४ यात्रु थिए तर कुनै हताहती भएको थिएन । विमानका पाङ्ग्राहरू अड्किएका थिए जसले गर्दा यो पार्किङ वेमा अवतरण गर्न नसक्दा घाँसतिर चिप्लिएको थियो ।
घटना हुनेबित्तिकै इन्जिनीयरहरूलाई एउटा हेलिकप्टरमा राखेर ढाकाबाट ल्याइएको थियो । उनीहरूले विमानको प्राविधिक मर्मत गरेका थिए । घटनामा विमानका चक्काहरू क्षतिग्रस्त भएका थिए ।
ढाका ट्रिब्यूनले सन् २०१५ को उक्त घटनाको समाचार अन्य पत्रिकाका समाचारसँग जुधाएर हेरेको थियो अनि त्यसका तस्वीरहरूलाई पनि विभिन्न कोणबाट नियालेको थियो । ती सबैबाट विमानको पहिचान पुष्टि भएको हो ।
यसबारेमा यूएस–बंगला एयरलाइन्सका महाप्रबन्धक कामरुल इस्लामलाई सम्पर्क गर्दा उनले रिसाउँदै यी दाबीहरूलाई अस्वीकार गरे । उनले भने, ‘यो पूर्णतया गलत दाबी हो । हाम्रो बदनाम गर्नका लागि मानिसहरू जानजान गलत सूचना फैलाइरहेका छन् । काठमाडौंमा दुर्घटनाग्रस्त विमानमा यसअघि कुनै पनि प्राविधिक समस्या थिएनन् ।’
ढाका ट्रिब्यूनबाट
उल्ट विमान दुर्घटनामा २२ नेपाली, २२ जना बंगलादेशी नागरिक र एक चिनिया नागरिकको मृत्यु भएको थियो भने ११ जना नेपाली ९ जना बंगलादेशी र एक माल्दिभ्सका नागरिक घाइतॆ भएका छन् ।
नेपाली नागरिक मृत्यु हुनेमा नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव रहेका छन् ।
नेपाली नागरिक घाईते हुनेमा केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु ,दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी, दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा, किशोर त्रिपाठी, ग्राण्डी अस्पताल, हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल, विनोद पौडेल, ग्राण्डी अस्पताल, वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली, आशिष रञ्जित नर्भिक, सनम शाक्य, नर्भिक, प्रिन्सी धामी, केएमसी, सबिना व्यञ्जनकार, केएमसी रहेका छन् ।